काठमाडौं, २६ मंसिर २०७६ । किरात समुदायले खेतीपातीमा केही गल्ती भएको भए सन्तान सम्झेर माफी गरिदिनुस् भनी प्रार्थना गर्ने परम्परा रहेको छ ।

किरात समुदायका विशेष गरी राई, लिम्बू, सुनुवार र याक्खाले यो पर्व मनाउँछन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस् खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ ।

वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गई उभौली पर्व मनाएको किरात समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको सामाजिक मान्यता छ ।

पूजापछि साकेला नाचिन्छ । पर्वत श्रृंखलाहरुको लेकतिर बसोवास गर्ने किराँतहरु जाडोको याममा बेशी अथवा तलतीर झर्ने र क्रमशः न्यानो बढेसंगै लेकतिर लाग्ने क्रम पनि यो चाडको सूचक हो । परम्परागत भेषभुषा लगाएर आज किराँत दाजुभाई तथा दिदि(बहिनीहरु सार्वजनिक स्थलमा भेला भएर पारम्परीक ’साकेला’ नृत्य प्रस्तुत गर्ने चलन छ ।“सोई साई ला ए“ ’हुर्रे हा हा , सोई ढोले सोई एएए अर्को ढोले खै?’ भन्दै यस दिन पारम्परीक सामूहिक नृत्य तथा गीत प्रस्तुत गरिन्छ । साथमा परम्परागत बाजागाजाहरु एवं विशेषतः किराँत संस्कृतिको अमूल्य साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा आदि बजाईन्छ ।

त्यसै गरि आज काठमाण्डौ उपत्यका लगायत देशैभरी छरिएर रहेका विविध प्राचिन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरि पुन्हि मनाउँदैछन् । कृषि कार्यसंग आजको धान्य पूर्णिमाले विशेष महत्व बोकेको छ । योमरि पुन्हि अर्थात् पूर्णिमाबाट औपचारीक रुपमा धान काट्ने कार्य सम्पन्न गरिन्छ । त्यसैले आजको दिनलाई धान्य पुर्णिमा समेत भनिएको हो। नयाँ धानको चामलको पिठोलाई माछाकोजस्तो स्वरुप बनाएर त्यस भित्र चाकू, तिल, दूधको खुवा आदि राखेर पानीको बाफबाट योमरि तयार पारिन्छ ।

योमरि अत्यन्तै स्वादिष्ट हुन्छ, मैदाको पिठो भित्र तरकारी र मासुका किमा हालेर मःमः बनाए झै योमरिलाई पनि पानीको बाफमा पकाइन्छ । तेल या अन्य चिल्लोपना नभएको यो परीकार स्वास्थ्यका हिसाबले हीतकारी छ ।

योमरि कै जस्तो तर भित्र केही पनि नहालीकन चामलको पिठोलाई पानीको बाफमा राखेर पूर्वी नेपालमा हिउँदका बखत भक्का खाने चलन छ । नयाँ धानको चामलको यस्ता भक्काहरुलाई पिरो अचारमा तात्तातो चोपेर खाने गरिन्छ । यस वर्षको भक्का खाने औपचारीक दिन पनि आजबाटै प्रारम्भ हुने जनउक्ति छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्