काठमाडौँ, २४ मङ्सिर २०७६ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले महिलाविरुद्धको हिंसाका घटना समाजका लागि लज्जाको विषय भएको बताउनुभएको छ ।

महिला हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उहाँले महिला हिंसाको घटनाले व्यापकता पाउनुको दुःखको कुरा रहेको बताउनुभएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजिक कार्यक्रममा सभापति देउवाले भन्नुभयो, ‘समाज अझै महिलामैत्री हुन सकेको छैन । बलात्कार, हत्या, तेजाव आक्रमणजस्ता जघन्य अपराध वास्तवमा समाजका लागि लाजमर्दाे कुरा भएको छ ।’ लोकतान्त्रिक समाजमा महिलाविरुद्धको सबै प्रकारका हिंसा अन्त्य गर्न सबै जागरुक हुनु जरुरी रहेको उहाँको भनाइ छ । महिलाविरुद्ध हिंसा गर्नेलाई सरकारले कडा कार्बाही गर्नुपर्ने बताउँदै उहाँले आफ्नो पार्टीले महिला हिंसा गर्नेलाई सदस्यता नै नदिने व्यवस्था गरेको बताउनुभयो ।

कार्यक्रममा कांग्रेस महामन्त्री शशांक कोइरालाले शैक्षिक पाठ्यक्रममा नै महिलाविरुद्ध हुने हिंसाको प्रतिकार गर्नुपर्छ भन्ने विषय राख्नुपर्ने बताउनुभयो । काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले महिलाका लागि सबैभन्दा बढी काम गर्ने पार्टी काङ्ग्रेस रहेको दाबी गर्दै भन्नुभयो, ‘काङ्ग्रेसको नेतृत्वमा संविधान बनेपछि नै मुलुकको इतिहासमा पहिलो महिला राष्ट्रपति र महिला सभामुख बनेको हो ।’

नेपाल महिला संघकी सभापति उमा रेग्मीले महिलाका लागि लोकतन्त्रको अनभूति अझै हुन नसकेको बताउनुभयो । ‘महिलाका लागि अझै लोकतन्त्र आएको छैन । लोकतन्त्रमा पनि महिलाले विभिन्न नाममा दमित, पीडिक हुनुपरेको छ ।’ उहाँले भन्नुभयो । पछिल्लो समय बढेको एसिड आक्रमण रोक्न एसिडको कारोबार पूर्ण रुपमा प्रतिबन्ध गरिनुपर्ने उहाँको भनाइ छ । रेग्मीले महिलामाथि बलात्कार गर्ने अपराधीलाई मृत्युदण्डको सजाय दिलाउने कानुनी आधार तयार गर्ने बहस सुरु गरिनुपर्ने बताउनुभयो ।

काङ्ग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले हिंसा पीडित महिलाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा अधिवक्ता अरुण ज्ञवाली, निर्वाचन आयोगका निवर्तमान आयुक्त इला शर्मा र मनोविद कोहिनुर दाहालले महिलाविरुद्धको हिंसाका विषयमा विभिन्न कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्