पोखरा, १० मङ्सिर २०७६ । पर्वत घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ८ मा बस्दै आउनु भएका सामाजिक अभियान्ता भोला सुवेदी ।
उहा हरेक दिन बिहानै ५ बजे उठ्नु हुन्छ । घरधन्दा सक्नु हुन्छ अनि पोखराका मुख्य चोकहरुमा रहेका बिजुलीको पोलहरु हेर्दै हिँड्नुहुन्छ र जुन पोलमा बत्ति बलेको देख्नु हुन्छ, फटाफट निभाइहाल्नु हुन्छ ।
भोलाको जीवन सिद्धान्त पनि गज्जबको छ । उहा भन्नुहुन्छ, बाबुआमा नै भगवान हुन्, यो पृथ्वी नै स्वर्ग हो । “सडक बत्ती समयैमा बालौं, समयमा निभाऔं अभियान” का अभियान्ता भोला सुवेदी
बि स २०७३ साल फागुन ११ गतेदेखि पोखरामा ‘समयमै बत्ति बालौँ, समयमै निभाउ’ अभियान सञ्चालक गरिरहेका एक अभियान्ता हुनु हुन्छ भोला सुवेदी । उहा भन्नुहुन्छ, ‘म हरेक दिन बिहान ६ बजेदेखि १० बजेसम्म र ११ बजेदेखि दिउँसो २ बजेसम्म पोखराको चोकका पोलहरुमा बलिरहेको बत्ति निभाउँदै हिँड्छु’ उहाले आफ्नो अभियानको उदेश्य सुनाउँदै भन्नुभयो, ‘नेपाल जलस्रोतको दोस्रो धनी देश, तर हामी नै भारतबाट किनेको बत्ति बाल्न बाध्य भइरहेका छौँ । कहिले काही बत्ति आउने जाने गरेर हैरान पर्छ । सरकारले सडकमा राखेको बत्ति दिनरातै बलेकोबलै हुन्छ । त्यसले बिद्युत भार बढ्छ अनि लोडसेडिङमा बृद्धि हुन्छ ।’ बाटोमा बलेको बत्ति देख्ने बित्तिकै निभाउनु हामी सबैको दायीत्व हो, तर के गर्नु हामी बुज्दैनौ, भन्नुभयो ।
‘जब म बिहान घरबाट निस्किएर पोलमा बलिरहेको बत्ति निभाउन थाल्छु । मलाई देख्ने कसैले पागल जस्तो भन्दै जिस्काउँछन् । कसैले तैले यो गरे केहि हुने हैन, के पाउँछन् यस्तो गरेर भन्दै हेप्छन्’ सुवेदी अभियानको घटेका घटनाहरु स्मरर्ण गर्दै भन्नुहुन्छ, ‘मान्छेले मलाई गालि गरेपनि म मुसुक्क हास्छु अनि यसरी अनावश्यक बत्ति बाल्दा लोडसेडिङ बढ्छ । त्यसैले, अनावश्यक प्रयोग भएका बत्ति मार्नुपर्छ सबैलाई भन्ने गर्छु । अरुलाई चासो छैन तर किन हो, कुन्नी ? म दिउँसो बत्ति बालेको देख्नै सक्दिँन ।’ भन्नुहुन्छ ।
रातको समय बाहेक सडकको बत्ति निभाउने अभियानमा हिँडनु भएका उहा कसैको साथ बिनै अभियान सुरु गरेका सुवेदी बत्ति निभाउँदै हिँड्दा करेन्ट लागेको देखि कुकुरले टोकेको दिन अझैपनि झलझल्ती सम्झन्छन् ।
‘मैले यो अभियानमा साथ दिन महानगरमा पनि ज्ञापनपत्रसमेत बुझाएको छु । पटकपटक प्राधिकरणका कर्मचारीलाई पनि अभियानमा साथ दिन अनुरोध गरेको छु । ‘तर, कतैबाट पनि मेरो कुरा सुनेनन् । तर, पनि म एक्लै अभियानलाई निरन्तरता दिएँ ।’ उहा भन्नुहुन्छ ।
‘अभियानकै क्रममा धन्दै अकालमा मरिनँ । बि स २०७४ साल असार २४ गते पोखराको गणेश टोलको पोलमा बत्ति निभाउँदा मलाई करेन्ट लागेको थियो, धन्न भाग्यले बाँचे । एक पटक हरियाली मार्गमा कुकुरले टाकेर घाउ नै बनाई दियो’, पुराना कुरा अझै ताजा छन्, उहा भन्नुहुन्छ ।
अहिले पोखरामा बि स २०७३ सालमा जस्तो लोडसेडिङ पनि हुन छाडेको छ । ‘मेरो अभियान तीन बर्ष पुरा हुनै लाग्यो । अहिले त पोखरामा खासै लोडसेडिङ हुँदैन । पहिला जस्तो जताततै दिउँसो बत्ति बलिराको पनि हुन्न’ , ‘दिउँसो जताततै बत्ति नबोल्दा र लोडसेडिङ नभएको देख्दा खुसी लाग्छ ।’ उहाले भन्नुभयो ।
भोला सुवेदी : “सडक बत्ति निभाउने अभियान”
पर्वत जिल्लाको सामान्य परिवारमा जन्मनु भएको भोला सुवेदी बि स २०६४ सालमा इजरायल रोजगारीको शिलशिलामा पुग्नु भयो । रोजगारिको शिलसिलामा ५ बर्षसम्म बिदेशी भुमीमा पसिना बगाएर उहा बि स २०६९ सालमा नेपाल फर्कनु भयो ।
‘म बिदेश जाँदा मेरो गाउँमा भर्खर बत्ति पुगेको थियो तर, बत्ति आउने जाने समय पत्तै हुन्थेन । बिदेशबाट फर्किएपछि पनि नेपालमा दिनको १६ घण्टाभन्दा बढि लोडसेडिङ भएको दिन सम्झना ताजै छ आजपनि मलाई’, ‘लोडसेडिङ भई राख्दा पनि पोखराको चोकका पोलहरुमा हरेक दिन दिउँसो पनि बत्ति बलिरहेको देख्थेँ ।’ उहाले भन्नुभयो ।
गाउँमा बिजुली बत्तिको राम्ररी प्रयोग गर्न नपाउँदै रोजगारिका लागि इजरायल पुगेका उहालाई त्यहाँ बसुन्जेल लोडसेडिङको पत्तै भएन ।
‘इजरायलमा त दिनरात पत्तै हुँदैनथ्यो । जहिले पनि जताततै झलमल्ल’, ‘केहि समय त्यहाँ बसेर आए तर नेपालमा लोडसेडिङ नभएको दिन नै हुँदैनथ्यो । त्यसैले लोडसेडिङ केहि हदसम्म भएपनि कम गर्न सक्छु कि भनेर अभियान चलाएँ ।’ उहा भन्नुहुन्छ ।
उहाले सामाजिक सचेतना फैलाउने अन्य काम पनि बराबर गरिरहनु भएको छ । कामना गरौं भोलाको जस्तै सत्कर्म गर्न समाजका अरु क्षेत्रका युवा जनलाई पनि प्रेरणा र उत्साह थपियोस् । भोलाको यो असल कर्मले विद्युत चुहावट रोक्नमा सधैं होस्टेमा हैंसे गरिरहोस् । तपाइँलाइ सफलताको शुभकामना ।









































