काठमाडौं, ४ मंसिर २०७६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पाँच वर्षका लागि केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भने कार्यकारी सहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ ।
नेकपा सचिवालय बैठकले बुधबार यस्तो निर्णय गरेको हो । यसअघि केपी शर्मा ओली नै कार्यकारी अध्यक्ष भूमिका निर्वाह गरेका थिए । तर पनि बैठकको अध्यक्षता संयुक्त गर्ने गरिएको थियो ।
“कार्यकारी अधिकारसहितको पार्टीको नेतृत्व प्रचण्डले गर्ने कुरामा सहमति जुटेको छ,” प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुसँग कुरा गर्दै भने, “एकजनाले सरकारको नेतृत्व र अर्कोले पार्टीको नेतृत्व गर्नुहुनेछ ।” तर दुवै नेताको वरीयता भने बराबर हुनेछ । पार्टी र सरकार सञ्चालन दुवै नेताको सहमति, सल्लाह र समझदारीमा हुनेछ ।








































