काठमाडौं, ३ मङ्सिर २०७६ । सर्वोच्च अदालतले पूजा बोहोरा बलात्कार प्रकरणमा घटनाको आठ वर्षपछि सागर भट्ट र अम्मरराज अवस्थीलाई दोषी ठहर गर्दे साढे ११ वर्षको सजाय सुनाएको छ ।
सोमबार न्यायाधीश सपना मल्ल र हरि फुयाँलको सजाय तोक्ने संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्टाउँदै बलात्कारी दोसी ठहर गरीएका सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्ष कैद सजाय सुनाएको हो ।
साथै पीडित बोहोरालाई मट्ट र अवस्थीबाट ५÷५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन समेत आदेश दिएको छ । क्षतिपूर्ती वापत पीडित बोहोरालाई सकारका तर्फबाट पनि पाँच लाख दिन आदेश दिएको छ ।
उच्च अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै गएको कार्तिकमा सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र हरि फुँयालको संयुक्त इजलासले उनीहरुलाई बलात्कारी ठहर गरेको थियो । यसअघि बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकको इजलासले यो मुद्दामा २०६९ फागुन २२ गते भट्ट र अवस्थीलाई १३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।
जिल्ला अदालत बैतडीकोको फैसला उल्ट्याउँदै उच्च अदालत महेन्द्रनगरले यी अभियुक्तले सफाई पाउने फैसला सुनाएपछि घटना एवम् तथ्य प्रमाणको न्यायोचित विश्लेषण हुन नसकेको भन्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा ‘दाहोर्याई पाउँ’ निवेदन दर्ता गराएको थियो। २०७१ साल पुस २ गते पेश भएको उक्त निवेदनमा पाँच वर्षपछि अन्तिम फैसला आएको हो। त्यसअघिका तीन वर्ष जिल्ला र उच्चमा मुद्दा अल्झिएको थियो ।
बि स २०६८ चैत ७ एसएलसी परीक्षा दिन बैतडीको कैलापालबाट पाटन बजारस्थित श्रीकृष्ण उच्च माध्यमिक विद्यालय पुगेकी बोहोरा बलात्कारको शिकार भएकी थिइन । गेसपेपर किन्न स्टेशनरी पसलमा गएका बेला कोकाकोलामा लागूपदार्थ मिसावट गरी खुवाएर बेहोस बनाइएको अभियोग भट्ट र अवस्थीविरुद्ध थियो। शौचालयमा बलात्कृत भएकी बोहोरा पसल नजिकैको नालीमा अचेत अवस्थामा फेला परेकी थिइन् ।








































