भक्तपुर, ३० कात्तिक २०७६ । उप-चुनावको मिति नजिकिँदै जाँदा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का थुप्रै नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
भक्तपुरको नगरकोटमा शुक्रबार आयोजित कार्यक्रममा तीन दर्जन बढी नेकपाका युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
सर्वहारा वर्गको नेतृत्व गर्ने कम्युनिस्टहरु आफै पद, पैसा र प्रतिष्ठाको भोगी भएको भन्दै युवाहरुले कम्युनिष्टलाई सवक सिकाउनको लागि पनि नेपाली कांग्रेसमा प्रवेश गरको बताएका थिए । उनीहरूले कम्युनिस्ट सरकारको झुट कुराको पछाडि नलाग्ने अपिल गरेका छन् ।
उनीहरूलाई नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, भक्तपुर क्षेत्र नम्बर १ ‘क’का प्रदेश सभाका उम्मेदवार कृष्णलाल भँडेल, नेपाली कांग्रेसका युवा नेता गणेश लामा, नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापा, युवा नेता सुशन प्रजापति, वीरमान तामाङ लगायतले कांग्रेसमा प्रवेश गराएका हुन् ।
नेपाल तरुण दल भक्तपुर जिल्ला कार्यसमितिको पहलमा चागुनारायण नगरपालिका वडा नम्बर ६ नगरकोटमा नेकपा परित्याग गरी ४५ जना युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेको तरुण दल भक्तपुरका नेता राजु पुरीले जानकारी दिए ।
नेपाली कांग्रेस भक्तपुरले उपनिर्वाचनलाई आफ्नो कब्जामा पार्ने रणनीति बनाएको छ । दुईतिहाइको कम्युनिस्ट सरकारलाई परिवर्तन गर्नका लागि नभई बरालिएको सरकारलाई सहि दिशामा लैजानका लागि उपनिर्वाचन नेपाली कांग्रेसले जित्नुपर्ने दावी कांग्रेसका उमेद्वार कृष्णलाल भँडेलले बताउँदै आएका छन् ।








































