बागलुङ, २६ कात्तिक २०७६ । जिल्लाको पुरानो सदरमुकाम हरिचौरमा दोस्रो गलकोट घुम्टे महोत्सव हुने भएको छ । आगामी मंसिर ४ देखि ११ सम्म हुने महोत्सवमा गलकोटको विभिन्न पक्ष झल्काउने आयोजकको तयारी छ ।
घुम्टे पर्यटन विकास समितिले महोत्सवमार्फत ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्त्विक महत्त्वको उजागर गराउने लक्ष्य राखेको अध्यक्ष झंकबहादुर बस्नेतले बताउनु भयो । घुम्टे जिल्लाको अग्लो धुरी हो । यो धुरीसम्म पुग्न दौड प्रतियोगिता राख्ने, महाभारतकालीन इतिहाससँग जोडिएका विषयमा सामाग्री प्रदर्शन गर्ने तयारी गरिएको छ ।
गलकोट घुम्टे पर्यटन विकास केन्द्रले बागलुङको गलकोट क्षेत्रलाई पर्यटकीय हबका रूपमा विकास गर्ने उद्देश्यले आगामी मंसिरमा ‘गलकोट घुम्टे महोत्सव’ आयोजना गरेको छ ।
उक्त महोत्सवमा गलकोट क्षेत्रको मौलिकता झल्काउने र कला, संस्कृति, खेलकुद एवं कृषि–उपजको प्रदर्शनी सहित पर्यटकलाई आकर्षित गर्ने गरी मौलिक कार्यक्रमका रूपमा १३ वर्षपछि दोस्रो गलकोट घुम्टे महोत्सव गर्न लागिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज बहादुर थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार गलकोटका पर्यटकीय स्थलहरु र कला संस्कृतिलाई ब्यापक प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने महोत्सवको मुख्य लक्ष्य रहेको छ । नेपाल सरकारले घोषणा गरेको आन्तरिक पर्यटन वर्ष सन् २०१९ र नेपाल पर्यटन भ्रमण वर्ष २०२० लाई सफल पार्न महोत्सवले सहयोग पुर्याउने महोत्सव आयोजक संस्था गलकोट घुम्टे पर्यटन विकास केन्द्र बागलुङका अध्यक्ष झङ्क बहादुर बस्नेतले जानकारी दिनुभयो ।








































