काठमाडौं, २४ कात्तिक २०७६ । नेपाली काँग्रेसले आगामी मंसिर १४ गते हुने उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँंधलीरहित एवं भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन गरेको छ ।
पार्टीको विधान बमोजिम गठन गरिएको अनुगमन तथा निर्वाचन आयोग समन्वय समितिको संयोजकमा केन्द्रीय सदस्य रमेश लेखक रहेका छन् भने केन्द्रीय सदस्यमा सीता गुरुङ्ग, नेपाल प्रेस यूनियन वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता सीताराम के.सी., अधिवक्ता तेज रावल रहेका छन् । समितिको सदस्य सचिवमा अधिवक्ता केशव रिजाल रहेका छन् ।
समितिले निर्वाचन आयोगबाट जारी गरिएको आचारसंहिताको पालना तथा प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमन गर्ने छ भने उपनिर्वाचनमा सुरक्षा व्यवस्था पर्याप्त भए नभएको पनि हेर्नेछ ।
उपनिर्वाचन हुने सबै जिल्लामा पार्टीको स्थानीय तहमा अनुगमन तथा स्थानीय निर्वाचन कार्यालय समन्वय समिति गठन गर्ने र उक्त समितिलाई आवश्यक निर्देशन दिने काम पनि समितिको हुनेछ ।
उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न उचित सुरक्षा व्यवस्थापनको अवस्था हेरी सो सम्बन्धमा निर्वाचन आयोग तथा सम्बन्धित निकायको ध्यानाकर्षण र समन्वय गर्ने गराउने काम पनि समितिले गर्नेछ ।








































