गोरखा, २३ कात्तिक २०७६ । भारतको नक्सामा नेपाली भूभाग समेटिएको विरोधमा गोरखामा विरोध कार्यक्रम भएको छ ।
सत्तारुढ नेकपाका युवा संगठन तथा विद्यार्थीले शुक्रबार दिउँसो हरमटारी चोकमा विरोध प्रदर्शन गरेका हुन् ।
पूर्वएमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र युवा संघ नेपाल तथा पूर्वमाओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र युवा संगठन वाईसीएल गोरखाले हरमटारीचोकमा कोणसभा गरेका हुन्।
कार्यक्रममा अनेरास्ववियु जिल्ला अध्यक्ष सञ्जीव थापामगर, विद्यार्थी नेता प्रविण श्रेष्ठ, राजन आले मगरलगायतले सम्बोधन गरेका थिए ।
भारतले नक्साबाट नेपालको भूमि तत्काल नहटाए चरणबद्ध संर्घष गर्ने चेतावनी उनीहरुले दिएका छन् ।
भारतीय विस्तारवादले नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूमि अतिक्रमण गरी नेपालको सार्वभौम अखण्डतामाथि ठाडो हस्तक्षेत्र गरेको भन्दै तत्काल कूटनीतिक पहलमार्फत सच्याउन सरकारसँग माग गरेका छन्।
भारतले एकतर्फी रुपमा नेपालको भूमी समेटेर नक्सा सार्वजनिक गर्नु नेपालको सार्वभौमिक अखण्डतामाथिको हस्तक्षेपको भएको भन्दै नेपाली जनताले त्यसलाई कुनै हालतमा स्वीकार गर्न नसक्ने बताएका हुन्।
नक्सा सच्याउनका लागि राजनीतिक तथा कूटनीतिक पहलका लागिसमेत सरकार गम्भीर हुनुपर्ने उनीहरुको भनाइ छ ।








































