पोखरा, २० कात्तिक २०७६ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्की प्रतिनिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले खेमराज पौडेललाई टिकट दिने भएको छ ।
बुधबार बिहान सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कास्की २ मा पौडेललाई टिकट दिने निर्णय गरेको हो ।
यसअघि नेता रामचन्द्र पौडेलनिकट भनी चिनिएका स्याङ्जाका धनराज गुरुङलाई सो क्षेत्रमा उम्मेदवार बनाउने हल्ला चलेपछि गुरुङ स्वयंले आफू उम्मेदवार नबन्ने जानकारी पदाधिकारी बैठकमा गराएका थिए ।
सो क्षेत्रमा नेकपाले स्वर्गीय रवीन्द्र अधिकारीकी श्रीमती विद्या अधिकारीलाई उठाउने निर्णय गरिसकेको छ । सो क्षेत्रबाट प्रतिनिधिसभामा विजयी तथा तत्कालीन पर्यटनमन्त्रीसकेत रहेका रवीन्द्र अधिकारीको गत फागुन १५ गते ताप्लेजुङको पाथीभरामा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो ।








































