इटहरी, २०७६ साल कात्तिक १७ गते आइतबार । एउटै घरका सवैजना सन्तान अपाङ्गता भएको परिवारलाई इटहरी उपमहानगरले एक लाख रकम सहयोग प्रदान गरेको छ ।
इटहरी २ का लक्ष्मण तामाङ्गलाई उपमहानगर प्रमुख द्धारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम उहाँको घरमा पुगेर सहयोग रकमको चेक हस्तान्तरण गर्नु भएको थियो । लक्ष्मण तामाङ्गका चार जना सन्तान चारैजना अपाङ्ग रहेका छन । १४ बर्षदेखि २९ बर्षसम्मका दुईछोरा र दुईछोरी उनीहरु कोही पनि आँखा देख्न सक्दैनन । कान्छो छोरा बाहेक कोही पनि बोल्न समेत सक्दैनन् । उठेर हिँडन त परै जाओस, बस्न पनि सक्दैनन् । ओल्टाइ पल्टाइ गर्नुपर्छ । अलि अलि मात्र आँखा देख्न सक्ने कान्छो छोराको अवस्था पनि बिस्तारै अन्य दाजु दिदीको जस्तै बन्दै गएको छ ।
तामाङ्ग परिवारमा परेको यो समस्या उहाँको मात्र होइन उहाँका साथमा उपमहानगरपालिका पनि रहेकाले जीवन निर्वाह अनुदान शिर्षकमा एक लाख रकम प्रदान गरिएको प्रमुख द्धारिकलाल चौधरीले बताउनुभयो । चार जना सन्तानको यस्तो अवस्थामा उनीहरुको स्याहारको जटिल कार्यमा तल्लिन रहेकोमा प्रमुख चौधरीले परिवारको प्रशंशा गर्दै सदभाव ब्यक्त गर्नुभयो ।
उपप्रमुख लक्ष्मी गौतमले यो परिवारलाई परेको समस्यामा सहयोग गर्न सर्वैसँग आग्रह गर्नुभएको छ । उहाँले ट्रस्ट वनाएर अघि वढदा राम्रो हुने सुझाव समेत दिनुभएको छ । यसअघि उपप्रमुख गौतमले घरमा पुगेर चारैजनालाई अपाङ्गता परिचय पत्र रेडकार्ड दिनुभएको थियो ।
अहिले उनीहरुले मासिक ३ हजारका दरले भत्ता समेत पाउदै आएका छन । इटहरी सरकारको सहयोग प्रति आभार ब्यक्त गर्दै उनीहरुका वुवा लक्ष्मण तामाङ्गले भन्नुभयो “ गाँउ गाँउमा सिहदरवार भन्थे, इटहरी सरकार घरमै आइपुग्यो खुशि लागेको छ ।”
१४ बर्षदेखि २८ बर्षसम्मका चारै जना छोरा छोरी जो आँखा देख्दैनन, बोल्न सक्दैनन, जीउ लल्याकलुलुक छ उठेर बस्न सक्दैनन् । दिसा पिसाब पनि सुतेकै ठाँउमा गराउनुपर्छ । नुहाउने, धुवाउने, खुवाउने, सरफाईमा तामाङ दम्पति अहोरात्र खटनुपर्छ । बुबा लक्ष्मणका अनुसार जेठी छोरी अस्मिता सात वर्षसम्म सबै ठीक थिइन ।
त्यसपछि बिस्तारै आँखा देख्न छाडिन, एक वर्षमा पुरै आँखा नदेख्ने भयो, त्यसपछि ढल्ने बेहोस हुने समस्या भयो । केही समयपछि केही थाहा नपाउने भएर ओछ्यानको ओछ्यान भइन् । अरु दुईजनालाई पनि ठयाक्कै त्यस्तै भयो । कान्छो छोराले पनि आँखा देख्न सक्दैनन् हिडडुल गर्न भने सक्छन् । राम्रो अस्पतालमा लगेर उपचार गर्न सके हुन्थ्यो भन्ने उहाँलाई लागेको छ ।
इटहरी उपमहानगरका प्रमुख चौधरी, उपप्रमुख लक्ष्मी गौतम, वडाध्यक्ष हर्क मगरले तामाङ परिवारलाई सहयोगका लागि सवैमा आग्रह गर्नुभएको छ ।









































