काठमाडौं, १४ कात्तिक २०७६ । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा ५ वर्ष कैद सजायको माग दावीसहित अभियोग पत्र दर्ता भएको छ । महराविरुद्ध जबरजस्ती करणी उद्योग अन्तरगत अभियोग पत्र दर्ता भएको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।
मुलुकी अपराध संहिताअनुसार जबरजस्ती करणी उद्योगमा दोषी पाइएमा ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । तर करणी उद्योगमा त्यसको आधा सजाय हुने कानुनी व्यवस्था छ ।
महरालाई पदीय दुरुपयोग गरेको आरोपमा थप डेढी सजायको व्यवस्था रहेकाले त्यसैअनुसार सजायको माग दावी गरिएको छ ।
संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले बलात्कार प्रयास गरेको आरोप लगाएपछि उनी असोज १९ गते पक्राउ परेका थिए ।
अभियोग पत्र दर्ता भएपछि भोलि इजलासमा पहिले महराको बयान हुनेछ भने त्यस लगत्तै थुनछेकको बसह चल्नेछ। धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने टुंगो त्यसपछि मात्र लाग्नेछ ।
योबीचमा आरोप लगाउने शाहीले नै आफूलाई महराले बलात्कार प्रयास नगरेको भन्दै अदालतमा निवेदनसमेत दिएकी छन् ।








































