काठमाडौं, १० कात्तिक २०७६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले लोकतान्त्रिक हक अधिकारलाई संकुचित बनाउन खोजिरहेको आरोप लगाएका छन् ।
देउवाले अभिव्यक्ति स्वतन्त्रतालाई समेत सरकारले संकुचित गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यस्ता षड्यन्त्रलाई निस्तेज पार्ने गरी तयारी अवस्थामा रहन पार्टीका तरुण तथा विद्यार्थीहरुलाई निर्देशन दिए ।
नेपाल तरुण दलले आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, नेपाली जनताको बोल्न, लेख्न, संगठन खोल्न पाउनेलगायतका प्रजातान्त्रिक अधिकारहरुको रक्षा गर्ने दायित्व पार्टीका तरुण र युवाहरुको काँधमा आएको बताए । उक्त जिम्मेवारी पूरा गर्न सक्ने गरी आफ्नो संगठनलाई सशक्त बनाउन उनले निर्देशन दिए ।
‘नेपाली जनताको स्वाभिमानका साथ बाँच्न पाउने जो अधिकार छ, मुलुकको राष्ट्रिय एकतालाई अक्षुण्ण राख्नुपर्ने कामहरु गर्नुपर्ने बेला आएको छ,’ सभापति देउवाले भने, ‘सो जिम्मेवारी पूरा गर्न पार्टीका तरुण र युवा विद्यार्थीहरुलाई तयार रहन म आग्रह गर्दछु ।’
सभापति देउवाले ६६ वर्षअघि तरुण दल स्थापनाकै दिन पारेर राजा महेन्द्रले पहिलो जननिर्वाचित सरकारका प्रधानमन्त्री विपी कोइरालालाई जेल चलान गरेर मुलुकमा फेरि निरंकुशता लादेको पनि स्मरण गरे ।








































