गोरखा ८ कात्तिक २०७६ । नेपाल कम्युननिष्ट पार्टी (नेकपा) जिल्ला कार्यसमिति गोरखाको आयोजनामा आज सदरमुकाममा शुभ दीपावली एवं छठपर्वको अबसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेको प्रमुख आतिथ्यता उक्त कार्यक्रम भएको थियो ।
कार्यक्रममा अध्यक्ष पाण्डेले चाडपर्वले आपसी सद्भाव र समन्वय कायम गर्ने बताउनुभयो । उहाँले अहिले नेकपा नेतृत्वको सरकारले जनताको सम्बृद्धिको चाहाना पुरागर्न योजनाबद्ध ढंगले अघि बढेको भन्दै प्रतिबद्धता अनुसार काम गर्दै सरकार अघि बढेको बताउनुभयो । अध्यक्ष पाण्डेले जिल्ला भित्र पार्टी र संगठनलाई चुस्तदुरुस्त बनाईराख्न र तल्लोस्तरसम्म संगठन निर्माणको प्रक्रियालाई अगाडी बढाउन समेत निर्देशन दिनुभयो ।
अझै पार्टी एकताको प्रक्रिया पुरा भईनसकेको उल्लेख गर्दै अध्यक्ष पाण्डेले जिल्लामा समेत बाँकी रहेका वडाहरुमा एकता प्रक्रिया ढुङग्याउन समेत निर्देशन दिनुभयो । कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य हरिराज अधिकारीले नेपाली नागरिकहरुको सम्बृद्धिको अपेक्षा बर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले मात्र पूरा गर्न सक्ने भन्दै बिकास परिवर्तन भन्नेकुरा सजिलै नहुने बताउनुभयो ।
कतिपय कानुनी जटिलताका कारण बिकासका निर्माणको काममा ढिलाई भइरहेको उल्लेख गर्दै बर्तमान सरकारले त्यस्ताखालका जटिलताहरुलाई बिस्तारै हटाउदै लगेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एवं गोरखा जिल्ला इन्र्चाज कृष्ण धिताल, केन्द्रिय सदस्य समेत रहनुभएका प्रतिनिधिसभाका सांसद चुडामणी खड्का (प्रकाश), अर्का केन्द्रिय सदस्य परशुराम रम्तेल, नेपाली काग्रेसका गोरखा जिल्ला अध्यक्ष हरि घले, समाजबादी पार्टी नेपालका गोरखा जिल्ला अध्यक्ष नारायण खत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।








































