काठमाण्डौँ, ७ कात्तिक २०७६ । अश्लिल गीतहरू गाएको आरोपमा नेपाली र्यापर तथा गायक समिर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन् ।
भिटेनलाई बिहीबार महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जावलाखेलबाट पक्राउ गरेको हो। ‘हामी यस्तै त हो नी ब्रो’ गीतबाट चर्चा कमाएका गायक भिटेन पक्राउ परेका हुन् ।
उनको गीत ‘हामी यस्तै त हो नि ब्रो’ मा अश्लील शब्द प्रयोग गरेको र सोसल मिडियामा राखेको तस्बिरमा आधारमा उनलाई बिहिबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी शहकुल थापाले जानकारी दिए ।
उनको गीतमा प्रहरी असईको ड्रेस लगाएर गाँजा तान्दै गरेका कारण सामाजिक मर्यादाविपरीतको रहेको भन्दै उनलाई पक्राउ गरेको महाशाखाले जनाएको छ ।
यसअघि महाशाखाले अश्लिल शब्द प्रयोग भएका गित गाएको भन्दै गायक दुर्गेश थापालाई पक्राउ गरिएको थियो । उनलाई युट्युबबाट गीत हटाएर माफी मागेपछि रिहा गरिएको थियो ।








































