काठमाडौं, ६ कात्तिक २०७६ । उपनिर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाउन नेपाली काँग्रेस नेताहरुले गृहकार्य तिब्र पारेका छन् । उपनिर्वाचन हुने ठाँउबाट उम्मेदवारहरुको नामावली मगाएको काँग्रेसले भोली बस्ने केन्द्रीय समितिको बैठकबाट नामावलीलाई अन्तिम रुप दिने तयारी गरेको छ ।
गाउँपालिका तथा नगरपालिकाको निर्वाचनका लागि गाउँ वा नगरबाटै र निर्वाचन क्षेत्रको निर्वाचनका लागि क्षेत्रीय समितिबाट सर्वसम्मत तीन संभावित उम्मेदवारको नामावली पठाउन काँग्रेसले निर्देशन दिएको थियो ।
कतिपय ठाउँमा सर्वसम्मत हुन नसकेपनि अधिकांश ठाउँबाट सर्वसम्मत नामावली आएको काँग्रेस नेताहरुले बताएका छन् । स्थानीयस्तरबाट प्राप्त नामावलीका आधारमा उम्मेदवारहरुको प्रारम्भीक सूची तयार पार्न केन्द्रीय नेताहरुले पटक पटक आन्तरिक छलफल गरिरहेका छन् ।
प्रारम्भीक सूचीलाई अन्तिम रुप दिएर केन्द्रीय समितिको बैठकमा पेश गर्न पदाधिकारीको बैठक पनि आज बस्न लागेको छ ।
पदाधिकारी बैठकले उपनिर्वाचनका लागि संभावित उम्मेदवारहरुको नामावलीसँगै केन्द्रीय समितिका अन्य एजेण्डाहरु पनि तय गर्ने नेताहरुले बताएका छन् । काँग्रेस केन्द्रीय समितिको बैठक भोली देखि बस्ने तय भएको छ ।








































