काठमाडौं, ३० असोज २०७६ । नौजना नेपाली युवा वैज्ञानिकले रुस पुगेर विभिन्न विषयमा प्रस्तुति दिने भएका छन् । सोमबारदेखि रुसमा सुरु आठौं एसिया प्यासिफिक योङ साइन्टिस्ट कन्फ्रेन्समा विभिन्न कलेजमा अध्ययनरत ९ जना युवा सहभागी छन् ।
नेपाल पोलिमर इन्स्टिच्युटको पहलमा गत शनिबार सम्मेलनमा भाग लिन टोली रुस प्रस्थान गरेको छ । सम्मेलनमा साउथ वेस्टर्न स्टेट कलेजका स्वराज सागर प्रधान, ओमेगा कलेजका विवेक ढुंगाना, नाइटिंगेल स्कुलका अभिनभ गौलीले प्रस्तुति दिनेछन् ।
त्यसैगरी आस्था स्कुलका अर्जुन सारु र दीक्षा सञ्जेल, काठमाडौं मोडेल कलेजका ऋषिकुमार गुप्ता, सेन्ट जेभियर्स कलेजकी आस्था शाह र कृतिश पोखरेलले पनि सम्मेलनमा प्रस्तुति दिने बताइएको छ । युनिग्लोब कलेजका वीरेन्द्र बुढा लगायतले विभिन्न विषय तथा क्षेत्रमा आफूले गरेका आविष्कार तथा खोजसम्बन्धी प्रस्तुति दिनेछन् ।
साउथ वेस्टर्न स्टेट कलेजका प्रधानले युज अफ माइक्रोस्याटलाइट फर ग्लोबल कनेक्टिभिटी, हाइस्पिड ट्रान्समिसन एन्ड डाटा एनालाइसिसमा प्रस्तुति दिनेछन् ।
ओमेगा कलेजका ढुंगानाले ट्राफिक मिटिग्रेसन इन म्याथमेटिकल वेमा प्रस्तुति दिनेछन् भने नाइटिंगेल स्कुलका गौलीले हाइड्रो एग्रिकल्चर प्रोटोटाइप : मल्टिपल युज अफ वाटर रिसोर्सेज इन नेपाल विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । टोलीका अरु सहभागीले पनि विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । अक्टोबर १४ मा सुरु भएको सम्मेलन २० सम्म चल्नेछ ।








































