काठमाडौं, १५ असोज २०७६ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारलाई कृष्णबहादुर महरालाई कारबाही गरेर जनविश्वास आर्जन गर्न सुझाव दिएका छन् ।
नेता सिंहको भनाइ अनुसार निर्मला पन्तका दोषी पत्ता लगाउन नसकेर जनविश्वास गुमाइसकेको सरकार र प्रहरी प्रशासनलाई महरा प्रकरण पुनः विश्वास आर्जन गर्ने अवसर भएको छ ।
बुधबार जोरपाटीमा नेपाली कांग्रेस काठमाडौं क्षेत्रनम्बर ३ ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले देशमा कानुनी राज्य छ भन्ने स्थापित गर्नका लागि र निर्मला पन्तको केसमा गुमिसकेको विश्वास फेरि जगाउनका लागि यो काममा सरकार र प्रशासन लाग्नुपर्ने सुझाव दिएका छन् ।
नेता सिंहले कानुन सबैका लागि समान भएको भन्दै अनुसन्धानमा संलग्न प्रहरीहरुलाई दबाव र प्रभावमा नपरी चनाखो भएर काम गर्न सुझाव दिएका छन् । अनुसन्धानको क्रममा दोषी देखिनेलाई ढाकछोप गर्न नहुने उनले बताएका छन् ।
उनले भने, ‘सभामुखको व्यक्तित्व प्रस्तुत गर्न उहाँ चुकिसक्नु भएको छ । नेकपाको नेता भएपछि जे मन लाग्यो त्यही गर्न पाउने ? महिलालाई दुर्व्यवहार गर्ने ? ढाकछोप गरेर कानुनभन्दा माथि नेकपाका नेता कार्यकर्ता हुने ? यो हुनै सक्दैन ।’
मंगलबार महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि नेकपा नेता महराले सभामुख पदबाट राजीनामा दिएका थिए । तर महराको राजीनामा’ुम कुटेजस्तो गर्छु, तिमी रोएजस्तो गरु भनेजसरी आएको सिंहले टिप्पणी गरे । उनले प्रश्न गरे, ‘संविधानको कुनचाहिँ धाराअनुसार राजीनामा गर्नुभयो ? जनतालाई भ्रममा पार्न त भएन नि ।’
यसैक्रममा, नेता सिंहले महरा सभामुख पदबाट मात्र नभई सांसद पदबाट पनि हट्नुपर्ने बताए । अत्यधिक मूल्यवृद्धि, भ्रष्टाचार, मेलम्ची खानेपानी आयोजना प्रकरणलगायतले सरकार असफल भएको पुष्टि भइसकेको पनि उनले जोडेका छन् ।








































