झापा, ३ भाद्र २०७६ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले एउटा चुनाव जित्ने र अर्को चुनाव हार्दा देशले दु:ख पाएको बताएका छन् ।
झापाको धुलाबारीमा आयोजित पार्टीका कार्यक्रममा नेता शर्माले ०४८ सालदेखि पछिल्लो निर्वाचनसम्म आइपुग्दा कांग्रेसले एउटा चुनाव जित्ने र अर्को चुनाव हार्दा देशले दु:ख पाएको बताए । उनले अब लगातार तीनवटा चुनाव जित्ने गरि कांग्रेसअघि बढ्ने पनि बताए ।
“कांग्रेसले एउटा चुनाव हार्ने र अर्को चुनाव जित्ने गरेर देश बन्दैन । वीपीले १५ वर्षमा हरेक नेपालीलाई आफुजस्तो बनाउँछु भन्नुभयो । त्यसो भनेको १६ सालमा प्रधानमन्त्री भएका वीपीले ३१ सालमा शासन छोड्छु भनेको हो ? ” प्रवक्ता शर्माले भने, “ उहाँले भनेको के हो भने म सँग एउटा सपना छ । ५ वर्ष जिताउनुभयो । अब अर्को दुईवटा चुनाव जिताउनुभयो भने यो देशलाई एउटा ठाउँमा पुर्याउँछु भन्नुभएको हो ।”
उनले वीपीले भनेको १५ वर्ष स्मरण गर्दै आगामी तीनवटा निर्वाचन जितेर देशलाई कहाँ पुर्याउने हो प्रष्ट दृष्टिकोणका साथ जनतामा अब कांग्रेस जाने बताए ।
केपी ओली नेतृत्वको सरकार बनेपछिको डेढ वषृमा सबैभन्दा बढी भ्रष्टाचार भएको शर्माको आरोप थियो । उनले वाइडबडी, सुनकाण्डदेखि बालुवाटार जग्गा प्रकरणसम्मको उदाहरण दिँदै सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको बताए ।
चुनावमा सपना देखाउने तर सरकारमा पुगेपछि पूरा नगर्दा जनतामा वितृष्णा आउने भन्दै उनले त्यसतर्फ सचेत हुन पनि सरकारलाई आग्रह गरे । सडकमा सरकारविरुद्ध नागरिकहरु व्यवस्थाकाविरुद्ध नभई अवस्थाकाविरुद्धमा निस्केको शर्माले बताए ।
त्यस्तै कांग्रेसले अब आफैभित्र सुधार गर्नुको विकल्प नभएको पनि उनको भनाई थियो । “कांग्रेसले बदलिनुको विकल्प छैन । जो बदलिन्छ उसले नेतृत्व लिन्छ । जो बदलिनँदैन , उसले अब विदा लिन्छ,” शर्माले भने ।








































