गोरखा, १७ भाद्र २०७६ । नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट– आरुघाट– लार्के सडकले हिमाल पारिको गाउँपालिका चुमनुब्रीलाई सडक सञ्जालमा जोडेको छ ।
काम सुरु गरेको दुई वर्षको अवधिमा २६ किलोमिटर छिचोल्दै सडक चुमनुब्री गाउँ पालिका वडा नं. ३ सिर्दिबास सम्म पुगेको सडक निर्माण कार्यदलका प्रमुख इञ्जिनियर मेजर निशान्त क्षेत्रीले जानकारी दिए।
तीन किलोमिटर निर्माण गरेपछि गाउँपालिकाको केन्द्र ‘फिलिम’को वारिसम्म सडक पुग्ने मेजर क्षेत्रीले बताए। गाउँपालिकाको केन्द्र भने सो मार्गमा पर्दैन। सेनाले २०७४साल बैशाख १४ गतेदेखि लापूको हावाडाँडाबाट यो सडक निर्माण कार्य सुरु गरेको थियो। सडक निर्माणका क्रममा धार्चेको माछाखोलामा बेलीब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। बेलिब्रिज बनेपछि तातोपानीसम्म गाडी चल्ने मेजर क्षेत्रीको भनाइ छ।
यस्तै तिब्बतको सीमानामा रहेको लार्के भञ्ज्याङ सम्मको सडक सर्भेको कामपनि सकिएको उनले जानकारी दिए। ‘सर्भे सकिएको खण्डको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउने काम भइरहेको छ’–उनले भने, ‘सल्लेरीमा तेस्रो क्याम्प खडा गरी ट्रयाक निर्माणको कामलाई तीब्र रुपमा अघि बढाइएको छ।’ यसअघि पहिलो क्याम्प अर्मलामा र दोस्रो क्याम्प माछा खोलामा खडा गरी काम भइरहेको थियो।








































