काठमाण्डौँ, २०७६ साल भाद्र १३ गते शुक्रबार । आज भाद्र कृष्ण औंसी , कुसे औंसी अर्थात बाबुको मुख हेर्ने दिन,छोराछोरीले बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई सम्मान गरि मनाइदै छ ।यसैगरी देव तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्रायाउँदै कुशेऔंसी पर्वपनि मनाइँदै छ ।
धार्मिक र सांस्कृतिकदेखि स्वास्थ्यका दृष्टिकोणले पनि उपयोगी मानिन्छ । तराईदेखि पहाडसम्म पाइने एक किसिमको घाँस कुशको जराबाट विभिन्न आयुर्वेदिक उपचार हुने वनस्पतिविद् बताउँछन् । विशेष गरी धार्मिक तथा पितृकार्य गर्दा कुशको औंठी, ब्राह्मण, मोटक, पवित्र, कुशको टुक्रा आदि प्रयोग गर्ने परम्परा छ ।पौराणिककालमा कुशको प्रसंग उल्लेख छ ।
हरेक वर्षको भाद्र कृष्ण औंसीका दिन कुशे औंसीमा ब्राह्मणद्वारा विधिपूर्वक कुश काट्ने गरिन्छ ।‘यस दिन ब्राह्मणद्वारा काटिएको कुश घरमै राख्ने र जजमानकहाँ लगिदिने चलन छ,’ संस्कृतिविद् मधुसूदन सुवेदीले भन्नुभयो, ‘कुश घरमा राख्नाले परिवारको कल्याण हुने, सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।’ यस दिन प्रयोग हुने कुशको छुट्टै महत्व छ ।









































