काठमाडौंं, १४ साउन २०७६ । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टीको रिक्त संरचना पूर्ति ‘कसरी गर्ने ?’ भन्ने विषयले बैठक सकसमा परेको छ ।
बैठकमा पहिले १४औं महाधिवेशन मिति तोक्ने वा रिक्त संरचना पूर्ति गरेर महाधिवेशन आधार बनाउने वा सहमतिबाटै सबै संरचना बनाएर महाधिवेशनमा जाने भन्ने विषयमा संस्थापन र इतरसमूह नेताबीच अझै कुरा मिल्न सकेको छैन ।
गत २२ असारबाट सुरु बैठकमा पहिलो र दोस्रो दिनबाहेक हरेकमा यिनै दुई विषयमाथि छलफल जारी छ । पहिलो दिनको बैठकमा पार्टी नियमावली मस्यौदा पेश र दोस्रो बैठकबाट नियमावली केही विषयमा सहमतिबाट परिमार्जन शर्तमा सर्वसम्मत पारित गरिएको थियो ।
कांग्रेस नेता अर्जुननरसिंह केसीले बैठक महाधिवेशन र पार्टी संरचना गठनका दुई विषयमा अल्झिएको बताए । ‘बैठकमा मूलभूत रूपमा यीनै दुई विषय उठान भएका छन्, विधि र विधानभित्रैबाट संरचना बनाइनुपर्छ भन्ने हाम्रो धारणा हो,’ उनले राजधानीस“ग भने, ‘सहमतिका विषय पनि आएका छन्, छलफल हुँदैछ ।’
सहमति गर्दासमेत लोकतन्त्र दायराभित्रै रहेर विधि र प्रक्रियाबाट गर्न सकिने केसी बताए । ‘लोकतन्त्रमा विधि र प्रक्रिया ठूलो कुरा हो, विधिविहीन सहमति हुन सक्दैन,’ उनले भने, ‘विधिबाट महाधिवेशनको क्यालेण्डर सुनिश्चित गरेर पनि सहमति खोज्न सकिन्छ ।’
कांग्रेसको गत ८ पुसमा सम्पन्न महासमिति बैठकबाट पारित भएर १२ फागुनको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको विधानअनुसार पार्टीका आठ तहको संरचना हुने उल्लेख छ ।
जसअनुसार टोल, वडा, गाउँ र नगर, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र गरी आठ तहका संरचना व्यवस्था छ । तर, हालसम्म केन्द्र र जिल्लाबाहेक तल्लो तहमा पार्टी संरचना रित्तोजस्तै छन् ।
कांग्रेसले आगामी फागुनसम्म सात प्रदेश, नयाँ गठन भएका दुई जिल्ला रुकुम र पूर्वी नवलपरासी, १ सय ६५ संघीय र ३ सय ३० प्रदेश निर्वाचन कार्यसमिति, ७ सय ५३ पालिका र ६ हजार ७ सय ४३ वडाको अन्तरिम संरचना गठन गर्ने लक्ष्य राखेको छ ।
गत निर्वाचन पूर्वकायम २ सय ४० निर्वाचन क्षेत्र हेरफेर भएपछि कांग्रेसलाई संरचना विषयले सकसमा पारिरहेको हो ।
यसैबीच, जारी केन्द्रीय समिति बैठकमा आगामी फागुनबाट सकिने केन्द्रीय कार्यसमिति म्याद थप विषयले समेत प्रवेश पाएको छ । नेताहरूले कार्यसमिति म्याद थप विषयलाई बैठकमा उठाउन थालिसकेको एक नेताले जानकारी दिए ।
‘बैठकमा महाधिवेशन, संरचनामा संस्थापन र इतरपक्षबीच पक्कै विवाद छ तर केन्द्रीय समिति म्याद थपका विषयमा भने कसैको विमति छैन,’ ती नेताले भने, ‘म्याद थपेर महाधिवेशन गरौं भन्नेमा सबै एकमत छन् ।’
म्याद थप विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री शशांक कोइरालालगायत सहमत भएको ती नेताले प्रस्ट पारे ।
म्याद ‘६ महिना थप गर्ने कि एक वर्ष ?’ भन्नेमा नेताहरू टुंगोमा पुग्न बाँकी छ । तर, संस्थापन इतर पक्षले भने ‘बाध्यात्मक परिस्थितिका कारण म्याद थप्न सकिने’ शर्तमा नेतृत्वलाई सुझाउँदै आएको छ । आजको राजधानीमा खबर छ ।








































