काठमाडौं , २५ असार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुको अवरोधका बीच सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा बैठक सञ्चालन गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमा नै कांग्रेस र राजपाका सांसदहरुले उभिएर विरोध जनाएका थिए । दुवै दलका सांसहरुले उभिएर विरोध जनाइरहेका बेला सभामुखले बोल्नका लागि समय नदिईकनै बैठकको कार्यसूची अगाडि बढाएका हुन् ।
कांग्रेस र राजपाका सांसदहरुले बेल घेराउ गरी नाराबाजी गरिरहेकै समयमा सभामुख महराले सचिव गोपालनाथ योगीलाई सभामा उत्पत्ति भएका विनियोजन विधेयक २०७६, आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६, ऋण तथा जमान तेईसौं विधेयक २०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउन अनुमति दिए । सचिव योगीले नाराबाजीकै बीचमा राष्ट्रियसभाबाट प्राप्त सन्देश पढेर सुनाए ।
कांग्रेस र राजपाले सर्लाही घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न माग गर्दै मंगलबार पनि बैठक अवरुद्ध गरेका थिए ।








































