काठमाडौँ, ८ असार २०७६ । जल तथा मौसम विज्ञान विभागको मौमस पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार आज (आइतबार) देखि पर्सि (मंगलबार)सम्मै मध्य र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज (आइतबार) मध्य र पश्चिमका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

‘कतिपय ठाउँमा बाढीपहिरो जाने जोखिम हुन्छ, यसकारण सतर्कता अपनाउनु जरुरी छ, कतै यात्रामा निस्कँदा पनि मौसम विचार गरेर मात्र निस्कनु राम्रो हुन्छ,’ नेपालखबरसँग कुरा गर्दै उनले भनिन्, ‘नारायणगढ-मुग्लिन सडकमा पहिरो खसेकाे समाचार आइसकेको छ ।’

पश्चिमी र मध्य भूभागका थोरै स्थानमा भने भारी वर्षाको सम्भावना रहको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ। यस्तै उच्च हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाइएको छ ।

मौसमविद् कँडेलका अनुसार अहिले पनि देशका केही स्थानमा पानी परिरहेकाे छ। पश्चिम पोखरा, सुर्खेतलगयात, मध्य काठमाडौंलगायत तथा पूर्व धनकुटालगायत क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको उनले जानकारी दिइन् ।

‘देशभर (पूर्व, मध्य र पश्चिम) तर केही स्थानमा वर्षा भइरहेको हो,’ उनले भनिन्, ‘ती क्षेत्रमा हिजैदेखि वर्षा जारी छ, तर लगातार होइन, बीचमा रोकिने फेरि पर्ने भइरहेको छ ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका मध्य र पश्चिमी भूभागमा सामान्यदेखि पूर्णसम्म बदली तथा पूर्वी भेगमा आंशिकदेखि सामान्यसम्म बदली हुने देखिएको छ। पूर्वका केही स्थानमा साथै मध्य तथा पश्चिमका धेरैजसो स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

बिहीबार पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन सक्रिय बन्दै गएपछि वर्षा सुरु भएको हो।

मौसमविद् कँडेलका अनुसार मनसुनी प्रणाली पूर्वबाट मध्य हुँदै मनसुन पश्चिमसम्म फैलने क्रममा छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्