- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रहरीको गोलीले विप्लवका सर्लाही इन्चार्जको मृत्यु

June 20, 2019
756
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, ५ असार २०७६ । सर्लाहीको लालबन्दीमा प्रहरीको गोली लागेर नेत्रविक्रम चन्द विप्लव समूहका एकजना जिल्ला नेताको मृत्यु भएको छ ।

प्रहरीले भने दोहोरो हानाहानका क्रममा उनको मृत्यु भएको जनाएको छ । प्रहरी प्रवक्ता विश्वराज पोखरेलले दिएको जानकारी अनुसार प्रहरीसँगको गोली हानाहानका क्रममा विप्लव समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको हो ।

प्रदेश दुई प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले पनि घटनाको पुष्टि गर्दै पौडेलको साथबाट पेस्तोल र गोली बरामद गरेको जानकारी दिए । उनले उनीसँगै रहेका अन्य तीनजना भने भागेको जानकारी दिए ।

को हुन् कुमार पौडेल ?

पौडेल बागमती नगरपालिका धरहराका स्थानीय बासिन्दा हुन् । उनै पौडेलको नेतृत्वमा नेकपाका नेता, कार्यकर्ता र प्रहरीबीच केही महिनाअघि पनि सुकुम्बासी बस्ती हटाउने विषयलाई लिएर तनाव उत्पन्न हुँदा प्रहरीले गोली चलाएको थियो । तर, त्यतिबेला भने कुनै मानवीय क्षति भएको थिएन ।

बागमती नगरपालिका धरहरामा सागरनाथ वन परियोजनाको करिब ४ हजार बिघा जग्गा कब्जा गरी विप्लव नेकपाले सुकुम्बासीहरुलाई राखेको थियो । प्रहरीले सो जग्गा खाली गर्ने क्रममा यसअघि पनि गोली चलाएको थियो ।  पौडेल नेकपा माओवादी फुटेपछि मोहन वैद्य नेतृत्वको पार्टीमा लागेका थिए । पछि उनी नेत्रविक्रम चन्दले नेकपा बनाएपछि सोही पार्टीको प्रदेश नम्बर २ कै माथिल्लो तहमा थिए । त्यसअघि उनी चुरे भावर पार्टीमा थिए ।

पूर्व खेलाडीसमेत रहेका पौडेल पहिलेदेखि आँटिलो स्वभावको भएको उनका नजिकका एक आफन्तले बताए । “एक्कासि उहाँको प्रहरीले चलाएको गोली लागि निधन भएको खबर थाहा पाउँदा दुःख लागेको छ,” उनले भने ।

मेयरलाई दिइएको थियो कारवाहीको चेतावनी

नेकपाले बागमती नगरपालिकाका मेयर भरत थापालाई कारबाही गर्ने चेतावनी दिएको थियो । पूर्वमाओवादी मेयर थापाले जनयुद्धकालमा सुराकी गरेको, आर्थिक अपचलन गरेको, भ्रष्टाचार र गुण्डागर्दी गरेको आरोप लगाउँदै जनताले दण्डित गर्ने चेतावनीपूर्ण विज्ञप्ति जारी गरेको थियो । पछिल्लो समय सो नगरपालिकामा प्रहरी सक्रियता बढाइएको स्थानीयले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -