गलेश्वर, २९ जेठ २०७६ । सात वर्षअघि युरोपमा करीब डेढ दशकको बसाइलाई बिट मारेर काम गर्दा ठेला उठेको रित्तो हात र उल्टो सात लाख रुपैयाँ ऋण बोकेर घर फर्कनुभएका बेनी नगरपालिका–३ भकिम्लीका ४२ वर्षीय धनबहादुर श्रीष अहिले वार्षिक १४ लाख रुपैयाँ कमाइ गर्दै आउनुभएको छ ।
झट्ट सुन्दा सहजै विश्वास गर्न नसकिने श्रीषको सफलताको कथा कुनै हिन्दी चलचित्रको कल्पना जस्तै लागे पनि नपत्याई भने धरै छैन । विदेशमा रहँदा पैसा कमाउनु त कताकता उल्टै ऋण लागेपछि त्यही ऋण तिर्न गरेको बाख्रापालन अहिले पैसा आउने मूल जस्तै बनेको छ ।
श्रीषले २०६१ सालबाट तीन लाखको लगानीमा शुरु गरेको बोयर बाख्रापालनबाट अहिले वार्षिक १४ लाख रुपैयाँसम्म कमाई गर्दै आउनुभएको छ । “विदेशबाट फर्किंदा लागेको सात लाख रुपैयाँ ऋण तिर्नका लागि स्थानीय जातका बाख्रा बेचेर तीन लाखको लगानीमा बोयर जातका बाख्रापालन शुरु गरेको हुँ”, श्रीषले भन्नुभयो, “छ वर्षको यो अवधिमा ऋण तिरेर पनि व्यवसाय वृद्धि गर्नाका साथै रु २० लाख बचत गर्न सफल भएको छु ।”
श्रीषले अफ्रिकन जातको बाख्रापालनको मोडललाई प्रयोग गरिरहनुभएको छ । फार्ममा ६० वटा बोयर जातका बाख्रा रहेका छन् । हाइब्रिड पद्धतिबाट बाख्राहरु उत्पादन सकिने बाख्रापालनसम्बन्धी तालीम लिएपछि श्रीषले आफूले सिकेको सीप अन्य किसानलाई पनि सिकाउँदै आउनुभएको छ ।
श्रीषको खोरमा अहिले ६० वटा बोयर जातका बाख्रा छन् । करीब डेढ लाख पर्ने बोकासमेत छन् । बोयरको बोका खरीद गरी ल्याएर स्थानीय लोकल जातको बाख्रासँग क्रस गराई त्यसबाट उत्पादित बाख्रालाई प्रतिकेजी एक हजार ५०० मा बिक्री गर्ने गरेको श्रीष बताउनुहुन्छ । श्रीष पशुपालन तथा कृषि फार्म प्रालि दर्ता गरी व्यावसायिक बाख्रापालन गर्नुभएका श्रीषले बीउका रुपमा बोयर जातको बाख्रा पालेकाले बोयरको स्रोत केन्द्र बनाउन आवश्यक पूर्वाधार र तालीम लिइरहनुभएको छ ।
जन्मदर बढी हुने, छिटो तौल बढ्ने, बाली लाग्ने, कम रोग लाग्ने, दूध–मासु दुवैका लागि प्रयोग हुने, आकर्षक र कसिलो शरीर हुनेलगायतका विशेषताहरु अफ्रिकन बोयर जातका बाख्रामा हुने हुँदा यी जातका बाख्राबाट छोटो समयमा नै मनग्य कमाई गर्न सकिने उहाँको अनुभव छ | रासस