लमजुङ, २६ जेठ २०७६ । लमजुङका किसानले खेतमा लगाएको आलु, गहुँ थन्काएर धान रोप्न सुरु गरेका छन् । असार नलाग्दै जिल्लाका ग्रामीण भेगमा धान रोप्न सुरु गरिएको हो ।
कृषकका अनुसार सिँचाइ सुविधा भएका ठाउँ र गर्मी ठाउँमा धान रोपाइँ धमाधम भइरहेको छ । क्व्होंलासोँथर गाउँपालिका–४, भुजुङका नौराज गुरुङका अनुसार घिम्चे फाँटमा धान रोप्ने तयारी गरिएको छ । उहाँ सिँचाइको सुविधा भए पनि अहिले मर्मत भइरहेकाले रोपाइँ केही ढिला भएको बताउनुभयो । उहाँले भन्नुभयो, खेतमा लगाएको गहुँ र जौ थन्काउन थालेका छौँ । धानको बीउ पनि हुर्किसकेको छ । सिँचाइको मर्मत सकिने बित्तिकै धान रोपाइँ सुरु हुन्छ ।
मस्र्याङदी गाउँपालिका–५, घेर्मुका किसान यतिबेला धमाधम धान रोप्दैछन् । स्थानीय शङ्कर घलेका अनुसार तीन÷चार दिनअघिदेखि गाउँको घेर्मुफाँटबाट धान रोप्न थालिएको हो । फाँटमा पानीको व्यवस्था राम्रो भएकाले असार नलाग्दै किसानले धान रोप्न सुरु गरेका हुन् । स्थानीय तुलसी गुरुङका अनुसार गाउँमा मार्सी र एक्ले धान रोपिएको छ ।
कृषि ज्ञान केन्द्र लमजुङका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेका अनुसार पानीको स्रोत र सिँचाइ पुगेको ठाउँमा रोपाइँ थालिएको छ ।
जिल्लाका किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या २, सावित्री, जेठोबूढो, एक्ले, लोकतन्त्रलगायतको उन्नत जातको धानका साथै लोकनाथ, गोरखनाथ, यूएस ३१२, मकवानपुर, वर्षे ३००४, मनसुलीलगायतको हाइब्रिड जातको धान लगाउँदै आएका छन् ।
लमजुङका ठूला–ठूला फाँटहरू राइनास नगरपालिकाका राइनासटार, धमिलिकुवा, रामचोकबेँसी, भलाखर्क, चक्रतीर्थ, मध्यनेपाल नगरपालिकाका भोर्लेटार, दुईपिप्ले, सोतिपसल, सुन्दरबजार नगरपालिकाको सुन्दरबजार, परेवाडाँडा, सत्रसयलगायतका ठाउँमा स्थानीयसँगै उन्नत जातको धान लगाइने गरिन्छ । केन्द्रका अनुसार १४ हजार ७८८ हेक्टर जग्गामा धान खेती गरिँदै आएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा ४५ हजार ६३९ मेट्रिक टन उत्पादन भएको केन्द्रले जानएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा गत वर्ष १४ हजार ७९१ हेक्टरमा धान लगाइएकोमा ४४ हजार पाँच सय ४५ मेट्रिक टन धान उत्पादन भएको थियो ।