लेटाङ, (मोरङ) । २२ जेठ २०७६ । वारङ्गी पहाडी गाउँ हो । लेटाङ नगरपालिका वडा नम्बर ७ समलामा विद्युत विस्तार योजनाअन्तर्गत ३१ लाख रुपैयाँ खर्च भएको छ । मंगलबार प्रदेश १ का सांसद उपेन्द्र घिमिरे, नेपाल विद्युत प्राधिकरण प्रदेश १ का प्रमुख सचिदानन्द यादव र लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले संयुक्त रुपमा स्वीच अन गरी गाउँमा विद्युतीकरण योजनाको शुभारम्भ गरे । बिजुली पुगेपछि गाउँले हर्षित भएका छन् ।

धेरैलाई सुगम लाग्ने मोरङको वारङ्गीमा भने बल्ल बिजुली बलेको छ । चालिसको दशकमै मोरङका धेरै ग्रामीण भेगमा बिजुली विस्तारको क्रम सुरू भएको थियो । तर, वारङ्गीमा बिजुली पुग्न ३६ वर्ष लाग्यो ।

एकजना उपभोक्ता पूर्णमाया राईले धेरै समयको पर्खाइपछि टुकी बाल्नुपर्ने अवस्थाबाट मुक्ति मिलेको बताउँदै भनिन्,‘‘टुकीको भर थियो । मोबाइला चार्ज गर्न लेटाङ पुगरे एक पटकको दश रुपैयाँ बुझाउनु पर्दथ्यो अब त आफ्नै गाउँमा झिलिमिली बत्ती बलेको छ ।’’ राईले बर्खा र हिउँदमा आकाश धुम्मिदा सौर्य उर्जाबाट चलाइने ब्याट्रीसमेत चार्ज नहुँदा स्थानीय हैरान हुने गरेको सुनाइन् ।

प्रदेश सांसद उपेन्द्र घिमिरेले वारङ्गी पिछडिएको अवस्थामा ग्रामीण भेगमा विद्युतीकरणलाई प्राथमिकता दिई आफूलेसमेत पहल लिएको बताउँदै भने,‘‘पर्यटकीय क्षेत्रको समेत सम्भावना रहेको यो ठाउँमा बिजुली बलेपछि अब पर्यटनसँग सम्बन्धित परियोजनासमेत सञ्‍चालन गर्न सकिन्छ । यस विषयमा प्रदेश सरकारमार्फत धेरै काम गर्न सकिन्छ ।’’

समलाका ३१ परिवारलाई पहिलो चरणमा विद्युत वितरण गरिएको छ । दोस्रो चरणमा थप परिवारलाई योजना रहेको जानकारी दिँदै नेपाल विद्युत प्राधिकरण प्रदेश १ का प्रमुख सचिदानन्द यादवले भने,‘‘प्राधिकरणले मोरङलाई २०७७ सालसम्ममा पूणै बिजुलीयुक्त जिल्ला बनाउने योजना बनाएको छ ।’’ धनकुटासहित झापा र सुनसरीलाई समेत समेट्दा करिब ३५ करोड जति बजेट आवश्यक पर्ने यादवले बताए ।

घिमिरेले धेरैलाई मोरङका गाउँमासमेत बिजुली छैन् भन्ने सुनाउँदा नपत्याउने गरेको बताए । लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले मोरङ पहाडी भेगहरु अहिले पनि विकासका दृष्टिले निकै पछि परेको बताइन् । उनले भनिन्,‘‘नगरपालिकाले पनि यस्ता ठाउँको प्राथमिकतामा राखेर क्रमशः विकासको मूलधारमा ल्याउने योजना अघि सारेको छ ।’’

निरौलाले वारङगीमा पर्यटनको ठूलो सम्भावना रहेको बताइन् । लेटाङ बजारबाट १३ किलोमिटर मास्तिरको चुरे पर्वत श्रृखंलामा रहेको वारङगीको मौसम निकै रमाइलो छ । चिसो हुने भएकोले अहिले पनि धेरै मानिसहरु घुम्न पुग्ने गर्छन् ।

पूर्वको चर्चित भेडेटारकैजस्तो चिसो मौसम रहेको वारङगीमा होमस्टेको समेत ठूलो सम्भावना रहेको स्थानीय बताउँछन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्