काठमाडौंँ, २१ जेठ २०७६ । नेपाली काँग्रेसका स्थानीय तहका कार्यकर्ताले केन्द्रीय नेतृत्वलाई परम्परागत सोच र शैली बदल्नसुझाव दिएका छन् । कार्यकर्ताले सङ्गठनलाई संघीय संरचनाअनुसार, सातै प्रदेशमा सङ्गठन संरचना बनाउन, ७५३ वटा स्थानीय तह र वडास्तरको समिति गठन गर्न सुझावसमेत दिएका छन् ।
‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान’ वडा तहसम्म पुग्दा त्यहाँका कार्यकर्ताले गुटउपगुट त्याग्न, कार्यकर्ताका गुनासा सुन्न र सङ्गठनलाई सबल र सुदृढ बनाउने नीति र कार्यक्रम ल्याउन केन्द्रीय नेतृत्वलाई दबाब पनि दिएका हुन् ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले जागरण अभियान पार्टीलाई सबल र सुदृढ बनाउनेभन्दा पनि प्रचारमुखी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कार्यकर्ता चलायमान हुने स्थिति बनेको छ, ठोस प्रकारको काम हुन सकेको छैन, सङ्गठनको समायोजन हुनुप¥यो, प्रचारले मात्र पुग्दैन रसङ्गठन बलियो हुनुप¥यो ।’’
काठमाडौंँमा खटिनु भएका केन्द्रीय प्रतिनिधि बालकृष्ण खाँणले विशेष महाधिवेशनको कुरा उठाएर पार्टी फुटाउन खोज्ने, चार तारे झण्डामुनि बसेर आफ्नै पार्टीको हितविपरीत बोल्ने र पार्टी विपरीत कार्य गर्नेहरू सच्चा काँग्रेस हुन नसक्ने बताउनुभयो । उहाँलेजागरण अभियानले पार्टीलाई शक्तिशाली, ऊर्जाशील, सुदृढ र सबल बनाउन सहयोग पुगेको जानकारी दिनुभयो ।
वैशाख २५ देखि सुरु भईजेठ २५ सम्म जारीपहिलो चरणको जागरण अभियानमा विगतको निर्वाचनको क्रममा भएका मनमोटावलाई सहजीकरण गर्न, पार्टीका संरचनालाई चलायमान बनाउन, कार्यकर्तामा उत्साह पैदा गर्न अभियान फलदायी रहेको भनाइ केन्द्रीय प्रतिनिधिहरूको छ ।
भोजपुरमा खटिनु भएका केन्द्रीय प्रतिनिधि रामहरि खतिवडाले वडा तहसम्म पुग्दा बीपी कोइरालासँग राजनीति गरेका ९६ वर्षका ज्येष्ठ नागरिकसँग समेत संवाद गर्न पाएको अनुभव सुनाउनुभयो । उहाँले अग्रजहरूलाई सम्मान गर्ने अवसर मिलेको जानकारी दिनुभयो ।
कार्यकर्ताले गुटउपगुट त्यागेर कार्यकर्तालाई उत्साहित बनाएर जान स्थानीय कार्यकर्ताको सुझाव रहेको खतिवडाको भनाइ छ ।
पर्सामा गुटउपगुट देखिने गरी कुनै कार्यक्रम सञ्चालन नगरिएको जानकारी दिँदै केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले भन्नुभयो, ‘‘सबै नेताहरू एउटै मञ्च, एउटै लयमा अभियानमालागेकाले गुटको कुरै नआएको छैन ।’’कार्यकर्ताले पार्टीलाई विधानअनुसार सञ्चालन गर्नुपर्ने, भ्रातृ सङ्गठनलाई केन्द्रदेखि तल्लो तहसम्म चलायमान बनाउनुपर्ने सुझाव दिएका छन् ।
डडेल्धुराको जागरण अभियानबारे जानकारी दिँदै केन्द्रीय सदस्य वीरबहादुर बलायरले जोगबुढा र अमरगढी नगरपालिका तथा आलिताल र भागेश्वर गाउँपालिकामा उल्लेख्य जनसहभागितासहित कार्यक्रम भएको जानकारी दिनुभयो ।
यसैगरी, सङ्खुवासभामा खटिनुभएका केन्द्रीय सदस्य सीता गुरुङले भन्नुभयो, ‘‘स्थानीय तहमा रहेका विवाद मिलाउने, टिकट नपाउँदा निराश भएका स्थानीय नेताहरूको गुनासो सुनेर उनीहरूलाई उत्साहित बनाउने, सङ्गठनलाई चलायमान बनाउने, जिम्मेवारी तोक्ने र अन्य पार्टीका कार्यकर्तालाई प्रवेश गराउने काम भइरहेको छ ।’’ पाँच नगरपालिका र पाँच गाउँपालिकाका ७६ वडाहरूमा प्रतिनिधि पठाएर प्रतिवेदन माग गरिएको छ ।
सङ्घीय संरचना अनुसार पार्टीको संरचना नहुँदा कार्यक्रम सञ्चालन गर्न कठिनाइ भए पनि पुरानै संरचनाका आधार जागरण अभियान अगाडि बढेको बताउँदै कञ्चनपुर खटिनुभएका केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टीका कमीकमजोरी र सुधार्नुपर्ने विषयमा गहन छलफल भएको छ बताउनुभयो । नेता घिमिरेले भन्नुभयो, ‘‘कार्यकर्ताले नेताहरूलाई सुध्रिन, कार्यकर्ताका गुनासा सुन्न, परम्परागत शैली र सोच त्याग्न अनि पार्टीलाई सबल, सदृढ, जुझारु पार्टी बनाउने नीति र कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।’’
सुर्खेत जिल्लामा जागरण अभियानको नेतृत्व गर्दै आउनुभएका जीवनबहादुर शाहीले जिल्लामा सत्ताको विरोध गरिएन, यो पार्टीको जागरण हो, मञ्च खडा गरेर कसैलाई उचाल्ने र पछार्ने कार्य भएन भन्नुभयो । अभियानमा पार्टीलाई सुदृढ बनाउने, केन्द्रदेखि वडा तहसम्मको नेतृत्वलाई सुधार्नुपर्ने तथा कार्यकर्तालाई प्रशिक्षण दिनुप¥यो, सङ्घीय संरचना अनुसार पार्टी सङ्गठन बनाउनुपर्ने र सिङ्गो पार्टीलाई बलियो बनाउनेमा अभियान केन्द्रित भएको भनाइ शाहीको छ । पहिलो चरणको अभियान यही जेठ २५ गते सकिँदैछ ।