काठमाडौं, १४ जेठ २०७६ । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कुनै पनि मुलुकको लोकतन्त्र सुदृढीकरणका लागि प्रेस स्वतन्त्रता अपरिहार्य रहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियनको २८औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले जनताको भावना जागृत गराउन प्रेस स्वतन्त्रता आवश्यक रहेको बताउनुभयो ।
“सरकारले संसद्मा दर्ता गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्छ, हामी प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कानून पारित हुन दिन्नौँ”, उहाँले भन्नुभयो । सरकारले संविधानको भावना विपरीत कार्य गरेको आरोप लगाउँदै उहाँले काङ्ग्रेसकै नेतृत्वमा जारी भएको संविधानको रक्षा गर्न पार्टीले कुनै कसर बाँकी नराख्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको प्रेस स्वतन्त्रता कसैको कृपाले स्थापित नभई स्वयं सञ्चारकर्मीको योगदानले स्थापित भएको बताउनुभयो । उहाँले वर्तमान सरकारले विभिन्न कानूनमार्फत व्यक्तिगत स्वतन्त्रतामा अङ्कुश लगाउन खोजेको आरोप लगाउनुभयो । काङ्ग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले सरकारले नागरिकका अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाउँदै लोकतन्त्रको रक्षाका लागि काङ्ग्रेसको सुदृढीकरणको आवश्यकता औँल्याउनुभयो ।
काङ्ग्रेस केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल र दीपक गिरीले मुलुकको विकास र समृद्धिका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । प्रेस स्वतन्त्रता कुण्ठित हुने कुनै पनि कानून मान्य नहुने उहाँहरुको धारणा थियो ।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त किरणकुमार पोखरेल, वरिष्ठ पत्रकार हरिहर विरही, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहाल, पत्रकार महासङ्घका अध्यक्ष गोविन्द अचार्य, वरिष्ठ पत्रकार किशोर नेपाल, प्रेस युनियनका कार्यवाहक अध्यक्ष दीपक आचार्यलगायतले प्रेस स्वतन्त्रतामा अङ्कुश हुने कुनै पनि कानून मान्य नहुने बताउनुभयो । उहाँहरुले त्यस्ता क्रियाकलाप विरुद्ध प्रेस युनियनलगायत सङ्घसंस्था लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।