काठमाण्डौँ, ११ जेठ २०७६ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई सुरक्षित समाज र विकास निर्माणमा साझेदारी गर्दै अगाडि बढ्न निर्देशन दिएका छन् ।
प्रहरीले लगाएको बर्दीमा कानुन भएको उल्लेख गर्दै खनालले यो कानुनलाई जथाभावी नभएर समुदायसँग मिलेर अगाडि बढ्न निर्देशन दिनुभएको हो । ‘समुदायको मन जित्ने भनेको कहाँ हो भन्दा असल नागरिकसँग सम्पर्क र सम्बन्ध राख्ने, सहयोग लिने, सहकार्य गर्ने गर्नुस्’ खनालले भने, –‘गलत प्रवृत्तिका गुण्डागर्दी, फटाहा, अपराधी, ठगहरुलाई तह लगाउने, यत्ति भयो भने समुदाय पनि राम्रो बन्छ ।’ खनालले अगाडि थपे, –‘म यसै सन्दर्भमा यो निर्देशन पनि दिन्छु, कुनै पनि बाहानामा ओहो ! चार जना गुण्डा आए, यहाँ त पटिहानीमा यस्तो भयो लुटियो पर्यटक भन्ने सुन्न चाहान्न, त्यस्तो भयो भने तपाईँहरुलाई कारबाही हुन्छ ।
’प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भरतपुर महानगरपालिका–२२ पटिहानीमा आज पर्यटन प्रहरीको कार्यालय उद्घाटन गर्दै पर्यटन प्रहरी पर्यटकको सुरक्षासँगै आम समुदायका लागि स्थापना गरिएको बताउँदै पर्यटकीय नगरी सुरक्षित बनाउन आवश्यक रहेको बताए ।
आईजीपी खनालले भने , ‘पर्यटकीय क्षेत्रमा आउने पर्यटकले सुरक्षित महशुस गरेमा मात्रै पर्यटन क्षेत्रको विकास हुन्छ।’पर्यटकको सुरक्षाका लागि नेपाल प्रहरीले पर्यटन मन्त्रालयसँग सहकार्य गर्दै सरकारले घोषणा गरेको पर्यटनका सय गन्तव्यमा सिसी टिभी जडानको काम गर्ने तयारीमा रहेको आईजीपी खनालको भनाइ थियो ।