ललितपुर,१० जेठ २०७६ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो २६ गते देखाइने भएको छ । साथै रथ तान्न बैशाख २३ गतेको शुभसाईत समेत निकालिएको छ ।
अहिले रथ जावलाखेलमा दर्शन गर्न र दीप बाल्नको लागि राखिएको छ भने भक्तजनहरुको घुईंचो समेत लागेको छ ।
ललितपुरको पुल्चोकबाट तानेर लगनखेल पु¥याइएको मच्छिन्द्रनाथको रथ त्यहाँबाट शुभ साइतमा तानेर जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाइने परम्परा रहेको छ । जोशी गुरुहरुले जेठ २३ गते रथ जावलाखेलतर्फ तान्ने शुभसाइत निकालेसँगै २६ गते भोटो देखाउने निश्चित भएको हो ।
रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । सो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्व रहिआएको संस्कृतिविद बताउँछन् ।
पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको सो जात्रा वैशाखशुक्ल प्रतिपदादेखि सुरू भई असारशुक्ल चौथीमा समाप्त हुने गर्दछ ।
लोक कथन अनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरूप दिएको रत्नजडित भोटो किसान वैद्यले खेतको आलीमा राखी काममा व्यस्त भएको बेला हराएको र पछि मछिन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दावी गर्यो । दुवैका बीचमा भोटो खोसाखोस गर्दै विवाद पर्यो ।
सोही विवाद राजासमक्ष पुर्याउँदा लिच्छवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन् । उनले प्रमाण लिएर नआउन्जेल सो भोटो मछिन्द्रनाथको जिम्मा लगाए र रथमा राखेर अर्को वर्ष कसैको प्रमाण छ कि भनी जानकारी लिने उद्देश्यले त्यसलाई देखाए ।
सोही परम्पराअनुसार प्रत्येक वर्ष मछिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीनपटकसम्म देखाउने प्रचलन रहि आएको छ ।