ललितपुर, २०७६ साल बैशाख ३० गते सोमबार । वाङ्ममय शताब्दी पुरुष सत्यमोहन जोशी सोमबारदेखि ९९ वर्ष पूरा भएर १०० लागेका छन् ।
आज सोमबार ललितपुर उपमहानगरपालिकाले रथारोहण गरेको छ । ललितपुरको मंगलबजारबाट पाटन, जावलाखेल हुँदै उनलाई बग्गीमा राखेर काठमाडौं महानगरपालिकामा राखेर विशेष सम्मान गरिएको थियो ।
ललितपुर महानगरले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाललाई कला, साहित्य र संस्कृतिमार्फत चिनाउन महत्वपूर्ण योगदान गरेका जोशीको महानगरले वैशाख ३० देखि विभिन्न कार्यक्रम आयोजना गरी एक वर्षसम्म जन्म शताब्दी महोत्सव मनाएको हो ।
पाटन, बखुम्बहालका जोशीको शताब्दी जन्मोत्सवका उपलक्ष्यमा महानगरले यस वर्षभरि नै विभिन्न कार्यक्रम पनि आयोजना गर्ने भएको छ ।
यसैबीच राष्ट्रपति विद्या भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशीको दीर्घायू र सुश्वास्थ्यको कामना गरेकी छिन् ।
संस्कृतिविद् जोशी सय वर्ष पुगेको अवसर पारेर सोमबार विहान उनकै निवासमा आफन्तजनहरुले उनको सुस्वास्थ्य र दीर्घायूको कामना पनि गरेका थिए ।
सोही सम्मान स्वरुप आज ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।