काठमाडौँ, २९ वैशाख २०७६ । नेपाली काँग्रेसभित्र झाँगिएको गुटगत प्रवृत्तिलाई अन्त्य गर्न र पार्टीलाई संस्थागतरूपमा अगाडि बढाउन केन्द्रीय अनुशासन समितिले पार्टीका शीर्ष नेतासहित कार्यकर्तालाई समेत निगरानीमा राखेको छ ।
वैशाख २५ गतेबाट सुरु भएको जनजागरण अभियानमा शीर्षनेता तथा कार्यकर्तासमेतको अनुगमन गरी अनुशासन समितिमा प्रतिवेदन दिन नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएन (डीएलए) को टोली ७७ जिल्लामा खटाइएको छ ।
अभियानको अनुगमन गर्न टोली खटाएपछि कारबाहीमा परिने डरले एक गुटका नेताले अर्को गुटका नेतालाई गाली गलौज गर्ने, दोषारोपण गर्ने र नङ्ग्याउने प्रवृत्तिमा न्यूनीकरण आएको बताइएको छ । केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङदम्बेले पहिलोजस्तो आग्रह पूर्वाग्रहका साथ भनाइहरू राख्ने प्रवृत्तिमा न्यूनीकरण आएको बताउनुभयो ।
संयोजक आङदम्बेले भन्नुभयो, ‘‘जनजागरण अभियानमा कहाँ के भइराखेको छ भनेर सूक्ष्मरूपमा हेरिरहेका छौँ, शीर्ष नेतादेखि अन्य नेता र कार्यकर्तामाथि निगरानी राखिएको छ, कार्यक्रममा पहिलाजस्तो आग्रह पूर्वाग्रह राखिएको पाइएको छैन, डीएलको प्रतिवेदन आएपछि त्यसमाथि छानबिन गरी तथ्यहरु बाहिर आउने नै छन् ।’’ उहाँले समितिमा रहेका करिब एक हजार दुई सय उजुरीमाथि सातवटै प्रदेशमा छुट्टाछुट्टै रूपमा अध्ययन भइरहेको छ, त्यसको समग्र अध्ययन सकेपछि आवश्यक निर्णय गर्छौं ।
डीएलएका अध्यक्ष योगेन्द्रबहादुर अधिकारीका अनुसार जिल्लाबाट आएको विवरणअनुसार सहभागिता उत्साहजनक छ, छलफलको क्रममा केही गुनासा र घोचपेचका कुरा पनि आएका छन्, विस्तृत विवरण भने आइसकेको छैनन् ।