काठमाडौं, २८ बैशाख २०७६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैले सबैको अस्तित्व स्वीकार गर्दा मात्रै राष्ट्रिय एकता मजबुत र राष्ट्रिय स्वाधीनता सुदृढ हुने बताएका छन् ।

खड्गी समाजद्वारा शुक्रबार वसन्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकले अर्कालाई सम्मान गर्ने परिपाटीबाट मात्रै मुलुकको राष्ट्रिय एकतालाई दरिलो बनाउन सकिने बताए । उनले भने, ‘एउटा जाति, एउटा भाषाले अरू जाति र भाषालाई अपमान गर्ने, विभेद तथा अन्याय गर्ने थितिको अन्त्य गरेर मात्र राष्ट्रिय एकता मजबुत हुन्छ ।”

प्रचण्डले सबैले आ–आफ्नो भाषाको, संस्कृति र परम्पराको जगेर्ना गर्ने तथा त्यसका राम्रा पक्षलाई अघि बढाउँदा सबै समुदायको उत्थान हुने बताए ।

सबै जात, जाति, भाषा, भाषीको पहिचानलाई माथि उठाउन विगतमा भएका आन्दोलनले ऐतिहासिक भूमिका खेलेको स्मरण गर्दै उनले खड्गी सेवा समितिले आफ्नो संस्कृतिलाई सम्बद्र्धन गर्दै अघि बढ्दा यस समुदायको पहिचान राष्ट्रिय रुपमा स्थापित भएको बताए ।

मुलुकको सबै उत्पिडित वर्ग तथा समुदायको पहिचान र अधिकार स्थापित गराउन आफूले निकै ठूलो सङ्घर्ष गरेको उल्लेख गर्दै उनले खड्गी समुदायको कला, संस्कृतिलाई जगेर्ना गर्न आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रचण्डले भने, “तपाईँहरुको सम्मान, पहिचान र अधिकार स्थापित गर्ने लडाईँमा आफू सधैँ तपाईंहरुसँगै रहने छु ।”

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्