काठमाडौं, २३ बैशाख २०७६ । ‘समृद्ध दमक, सुखी केपी ओली’ मूल नारा राख्न गगन थापाले सरकारलाई मूल नारा परिवर्तन गर्न सुझाएका छन् ।

आज (सोमबार) बसेको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा थापाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा परिवर्तन गरी ‘समृद्ध दमक, सुखी केपी ओली’ भन्ने राख्न सुझाएका हुन् ।

प्रधानमन्त्रीको लेटरप्याड प्रयोग गरी आफ्नो निर्वाचन क्षेत्रमा योजनाहरू पार्न सम्बन्धित ठाउँमा पठाएको प्रसंग उल्लेख गर्दै थापाले यस्तो अभिव्यक्ति दिएका हुन् । ‘सरकारको नीति तथा कार्यक्रम अलमलिएको निबन्धजस्तो छ,’ थापाले भने । महत्वाकांक्षाविहीन, अभिलाशाशून्य सपनारहित नीति तथा कार्यक्रमले सरकारले सपना देख्ने क्षमता पनि नराखेको पुष्टि गरेको उनको तर्क थियो ।

कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोगलगायत संवैधानिक निकायलाई पेल्ने काम गरेको सरकार आत्मप्रशंसामा मात्रै अल्झिएको उनको भनाइ छ । नीति तथा कार्यक्रममा समावेश आत्मप्रसंशाका ४० बुँदा यथार्थ र तथ्यभन्दा कपटपूर्ण, झुटा र भ्रामक भएको थापाले दाबी गरे ।

गत वर्ष ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने दाबी गरे पनि सरकार नै स्पष्ट नहुँदा पूरा नभएको उनको भनाइ छ । राष्ट्रपतिलाई उक्साएर विवादमा ल्याउने काम सरकारले गरेको भन्दै नीति तथा कार्यक्रम सम्बोधनका क्रममा प्रयोग गरिएको ‘मेरो सरकार’प्रति पनि उनले आपत्ति जनाए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्