- ADVERTISEMENT -

आज आमाको मुख हेर्ने दिन

May 4, 2019
1745
Shares
- ADVERTISEMENT -

ललितपुर, २१ बैशाख २०७६ । आफ्नी ममतामयी आमालाई सम्मान गरी शनिबार आमाको मुख हेर्ने दिन मनाइँदै छ । छोराछोरीले आफ्नी आमालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायतका वस्तु दिँदै आमाको मुख हेर्ने दिन मनाउँदै छन् । हरेक वर्षको वैशाख कृष्ण औंसीका दिन मनाइने यस पर्वलाई मातातीर्थ औंसीका रूपमा लिने गरिन्छ ।

आमालाई माता, जननी, महतारी आदि शब्दले पनि चिनिन्छ । हरेक आमा माया ममता र स्नेहकी खानी हुन् । त्यसैले आमालाई यस दिन मात्रै होइन ३६५ दिन नै माया ममता र स्नेह दिनुपर्नेमा शास्त्रका जानकारको जोड छ ।

- ADVERTISEMENT -

Advertisement

आफ्नी जन्म दिने आमालाई श्रद्धा भक्तिपूर्वक स्नेह र सम्मान गरी विभिन्न खानेकुराका परिकार खुवाउने हुनाले कसैकसैले यसलाई आमालाई खुवाउने औंसीका रूपमा पनि लिने गरेका छन् । यो दिनलाई अर्को शब्दमा मातृऔंसी, मातृदिवस, मातातीर्थ औंसी आदि पनि भनिन्छ ।

औशीका दिन आफूलाई जन्म दिने आमाको मुख हेर्न छोराछोरी आमा भएको ठाउँमा पुग्ने गर्छन् । यसरी आमालाई भेट्दा क्षमताअनुसार मिठाई, लड्डु, तथा विभिन्न खाद्यपदार्थ खुवाउने चलन छ । आमा जीवित हुनेहरूले आमालाई मीठामीठा परिकार बनाएर खुवाउँछन्, लुगाफाटो तथा अन्य विविध उपहार दिएर आमालाई खुसी बनाउँछन् । आमा भएर पनि टाढाटाढा रहेकाहरूले भने यस दिन आफ्नी आमालाई टेलिफोन तथा विभिन्न सामाजिक सञ्जालमार्फत सम्झने र कुराकानी गरेर आशिर्वाद लिने चलन नेपाली समाजमा बढ्दै जान थालेको छ ।
आमा भनेकी पछिल्ला पिँढीलाई संसार देखाउने भएकीले यिनको महत्व धर्म संस्कृतिमा मात्र नभई आधुनिक समाजमा असाध्यै बढी छ, संस्कृतिविद् डा। विणा पौडेल भन्छिन्, ‘दुख कष्ट झेलेर नौ महिना कोखमा पालेर जन्मदिने आमा सन्तानको भविष्य कोर्ने प्रेरणाकी स्रोत हुन् ।’

गलत बाटोमा लाग्न नदिन सुझाव दिने, सहयोग गर्ने, खुसीमा साथ दिने, दुःखमा पनि साथ दिएर त्यसबाट बाहिर निस्कन मद्दत गर्नेलगायतका काममा पछिल्लो समय आमाको भूमिका रहन्छ, उनले भनिन्, ‘तर पछिल्लो समय आफ्नी आमालाई तिरस्कार गर्ने, आमाको मूल्यलाई महत्व नदिने, घरबाट निस्कन बाध्य पार्नेलगायतका क्रियाकलाप पनि भइरहेका छन् ।’ सडक पेटीमा भेटिने ज्येष्ठ नागरिकमा कति जना कसैका आमा पनि भेटिन्छन् । तर, उनीहरूका सन्तानले जानाजान या कोही अन्जानमा त्यहाँ पुगेका छन् । यसरी पुग्ने आमा देखेर आफ्नो मन असाध्यै कुँडिने बताउँछन्, ज्येष्ठ नागरिक तथा बेवारिसे व्यक्तिको उद्धारमा खटिने विनय बस्नेत भन्छन्, ‘मलाई आफ्नो जन्म दिने आमालाई पनि तिरस्कार गरेर निकालेको देख्दा दुःख लाग्छ, उनले भने, ‘आफ्ना घरमा पालेका जनावरलाई बरू धेरै माया गरेको देखिन्छ तर आफ्नी आमालाई त्यत्तिको पनि माया दर्साएको पाइन्न ।’ बस्नेतले धेरै बेवारिसे आमाको पनि दाहसंस्कार गरिसकेका छन् । उनले आमालाई एक दिन खुवाएर मात्र हुन्न, बरु सधै समान व्यवहार गरेर अगाडि बढ्न सबैलाई सुझाव दिए ।

आमा नहुनेहरू भने यस दिन काठमाडौं उपत्यकाको पश्चिम दिशातर्फ थानकोट जाने बाटोमा पर्ने गुर्जुधारादेखि माथि पहाडको फेदीमा रहेको मातातीर्थ जाने गर्छन् । मातातीर्थमा रहेको कुण्डमा स्नान गरेपछि आप्mनो आमाको मुक्तिको कामना गर्दै तर्पण दिने चलन छ । मातातीर्थको पोखरीमा पवित्र मनका साथ हेरेको खण्डमा आमाको स्वरूपको दर्शन पाइन्छ भन्ने धार्मिक विश्वास छ । उक्त कुण्डमा हेर्दा दिवंगत माता प्रसन्न भई दिएको आशीर्वादको प्रभावले छोराछोरी जनधनले सम्पन्न भएर सुख भोग गर्न पाउँछन् भन्ने विश्वास छ ।

मातातीर्थ कुण्ड पौराणिक एवं धार्मिक तीर्थस्थल हो । आमाको पवित्रस्थल भएकाले त्यो स्थानको नाम मातातीर्थ रहेको भनाइ बुढापाकाको छ । त्यहाँ गएर छोराछोरीहरूले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुन तथा आफ्नी आमालाई मुक्त गराउन सक्छन् । स्वस्थानी व्रतकथाअनुसार यो तीर्थमा सतीदेवीको अंग पतन भई मातुलेश्वर महादेवको उत्पत्ति भएको कथन छ । त्यसकारण पनि यहाँ गएर शास्त्रोक्त विधिपूर्वक गरिने कर्मकाण्डबाट मृत आमाले मोक्ष पाउने तथा उक्त कार्य गर्ने सन्तानले जीवनभर सुखसन्तोष पाउने जनविश्वास छ । मातातीर्थ कुण्ड पौराणिक एवं धार्मिक तीर्थस्थल हो । भगवान् श्रीराम वनवासका क्रममा स्थानीय बासिन्दासँग युद्ध गरेर प्यास लाग्दा गंगामाताको स्तुति गरी जमिनमा वाण प्रहार पानीको कुण्ड बनेको प्रसंग पुराणमा उल्लेख छ ।

पौराणिक कथाअनुसार त्यतिबेला त्यहाँ घना जंगल भएकाले गाई चराउन आएका गोठाला कुण्डनजिकै बसेर खाजा खाइरहेका थिए । एउटा गोठालो मुखमा रोटी नपरी कुण्ड भएतिर मात्र जाँदै रहेछ । उसले त्यहाँ आमाको दर्शन पाएछ । तर, घर फर्कने बेलामा गोठालाले एक्लै फर्किन नमानेको र आमासँगै जाने इच्छा राख्दा आमाले छोरालाई हामी मृत आमाको दर्शन गर्न सधैं वैशाख औंसीको दिन यो तीर्थमा आउनू भन्ने वाचाका साथ छोरालाई सम्झाइबुझाई फर्काइन् । आमाको पवित्रस्थल भएकाले यो ठाउँको नाम मातातीर्थ रहेको हो । मातातीर्थ जान नसक्नेहरूले आंैसीका दिन आमाको नाममा ब्राह्मणलाई सिधा दान गर्ने पनि परम्परा रही आएको छ ।

पुरानो कथाअनुसार छोरालाई माया गर्ने आमालाई आफ्नी श्रीमतीको लहैलहैमा लागेर मुटु कलेजो नै निकालेको प्रसंग नेपाली समाजमा छ । पछि त्यही मुटु कलेजोले आफ्ना छोरालाई ठेस लाग्दासमेत बाबु तँलाई चोट त लागेन भनेको कथाले आमाको सन्ततिप्रतिको माया उजागर गरेको छ ।
नौ महिनासम्म शिशुलाई गर्भमा धारण गरेर आफूले खाएको अन्न, जल, श्वास, संस्कार दिएर जन्म दिने र जन्मपछि पनि शिशुको स्याहार सुसार गरेर मनुष्यको आकारमा ढालिदिने आमाको महŒव ठूलो छ । जीवनभर जति सेवा गरे पनि आमाको अभिभारा चुक्ता गर्न नसकिने बुढापाका बताउँछन् ।

नेवार समुदायको आमाको मुख हेर्ने दिन

यस दिन नेवारी समुदायमा आफ्नी आमालाई विशेष प्रकारले पूजा गर्छन् । उनीहरूले सुकुन्दा अगाडि राखेर बत्ती बालेर गणेशको पूजा गरी आमाको पूजा गर्छन् । धूप दीप नैवेद्यसहित पूजा गर्ने क्रममा सन्तानले आमालाई टीका लगाइदिन्छन् । पूजा गर्ने क्रममा रोलक्रमअनुसार पूजा गर्ने चलन छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -