काठमाडौं, १५ बैशाख २०७६ । नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले राष्ट्रिय जागरण अभियानलाई मर्यादित र अनुशासित बनाउन नेपाल प्रजातान्त्रिक कानून व्यवसायी संघ (डिएलए)लाई अनुगमनको जिम्मेवारी दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतरबार दिउँसो बसेको अनुशासन समितिको बैठकले डिएलएललाई ७७ वटै जिल्लामा स्थलगत अनुगमन तथा निरीक्षणमा खटाउने निर्णय गरेको हो ।

पार्टीका सचिव प्रेम केसीद्वारा जारी विज्ञप्तिमा जागरण अभियानको क्रममा पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले पार्टी हितविपरित काम कारवाही एवं अभिव्यक्ति दिएमा तत्काल केन्द्रीय अनुशासन समितिलाई जानकारी दिन भनिएको छ ।

काँग्रेसको पहिलो चरणको राष्ट्रिय जागरण अभियान वैशाख २५ गतेदेखि जेठ २५ गतेसम्मका लागि तय भएको छ । जिल्ला केन्द्रित यो अभियानपछि काँग्रेसले भाद्र २४ गतेबाट वीपी जयन्तीका अवसर पारेर ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा कार्यक्रम गर्नेछन् । तेस्रो चरणमा ७ सय ५३ पालिकामा मेलमिलाप दिवस पारेर पुस १६ गतेबाट अभियान सुरु हुनेछ ।

काँग्रेसले जागरण अभियानमा पार्टीका संगठन सुधार, सदृढीकरणका अतिरिक्त पार्टीको सदस्यता व्यापक वितरण, भ्रष्टाचार, मूल्यवृद्धि, हत्या हिंशा र बलात्कारका घटनालाई समेत उठाउने भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्