मोरङ, बैशाख १०
मोरङको पथरीशनिश्चरे नगरपालिका–१ निवासी रिना बस्नेतको मृत्यु प्रकरणको विषयलाई लिएर पथरी बजार थप तनावग्रस्त बनेको छ । घटनाको विरोधमा आफन्त र स्थानीयबासीले सुरु गरेको आन्दोलनले मंगलबार थप उग्ररुप लिएको हो ।
बस्नेतको हत्यारा पत्ता लगाउन ढिलाए भएको भन्दै स्थानीय र मृतकका आफन्तले बजार बन्दसहित प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको छ । प्रहरीलाई भीड नियन्त्रणमा लिन हम्मेहम्मे परेको छ । बजार, पसल र पूर्व–पश्चिम राजमार्ग ठप्प पार्दै स्थानीय बासिन्दाले आन्दोलन चर्काएपछि स्थिति असामान्य बनेको छ ।
रिनाको मृत्युपछि स्थानीयबाप् िसंघर्ष समिति नै गठन गरेर आन्दोलनमा होमिएका छन । स्थानीय बासिन्दाले आज बिहानैबाट टायर बालेर प्रदर्शन गरिरहेका छन । प्रदर्शन र आन्दोलनका कारण राजमार्गमा कुनै पनि सवारी साधन चलेका छैनन् भने बजार र पसल पूर्णरुपमा बन्द रहेका छन ।
प्रहरीले डेरा बसेको घरको तीन तलामाथि खसेर रिनाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको बताए पनि स्थानीयले पत्याइरहेका छैनन । रिनाका आफन्त र स्थानीय बासिन्दाले हत्या नै भएको दावीसहित प्रदर्शन गरिरहेका छन ।
प्रहरी प्रशासनविरुद्ध नारावाजी गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय बासिन्दाले घटनालाई मोड्ने प्रयास गरेको आरोप लगाएका छन । घटना भएको चार दिनसम्म सत्य तथ्य पत्ता नलगाएको र दोषीलाई पक्राउ नगरेको भन्दै स्थानीयले सोमबारबाट आन्दोलन थालेका हुन ।
घटनाको सत्यतथ्य पत्ता लगाउनु पर्ने, दोषीलाई कारवाही हुनु पर्ने लगायतका माग राखेर आक्रोसित बन्दै आन्दोलनमा होमिएका स्थानीयले मंगलबार इलाका प्रहरी कार्यालय पथरी र पथरीशनिश्चरे नगरपालिकाको कार्यालय घेराउ गरेका छन ।
घेराउका क्रममा आन्दोलनमा उत्रिएकाहरु नगरपालिकाको कार्यालयको गेट तोडफोडसमेत गरेका छन् । उनीहरुले पथरीशनिश्चरे-१ को कार्यालय र पथरी उद्योग वाणिज्य संघको कार्यालयमा समेत तालावन्दी गर्दै नगरपालिका घेउरा गरेका हुन ।








































