टोकियो, १० बैशाख २०७६ । असहाय, विपन्न तथा जेहेन्दार बालबालिकाको शिक्षाको लागी सहयोग गर्ने उद्देश्यले म्याग्दी प्रवासी नेपाली संघ (MONA मोना) जापानले आउँदो अप्रील २९ तारिख सोमबार जापानमा हुने लामो छुट्टी गोल्डेन उईकको (Goldeen Werk ) सुरुवातमै टोकियोमा बृहत साँगीतिक कार्यक्रम मोना नाईटको आयोजना गर्ने भएको छ ।
उक्त साँगीतिक कार्यक्रम’मोना नाइट’का लागि नेपालबाट शिव परिवार, ज्योती मगर र गगन पुन जापान आउने भएका छन् ।
नेपालबाट आमन्त्रित चर्चाको शिखरमा रहेका कलाकारहरुको प्रमुख आकर्षण रहने उक्त कार्यक्रममा जापानमा नै रहेका श्याम शितल, खड्क पुन लगायतका कलाकारहरुको पनि सहभागिता रहने आयोजक संस्था मोना जापानले जनाएको छ ।
कार्यक्रम टोकियो नाकानो स्थित नाकानो जिरो हलमा अपरान्ह साढे चार बजेदेखि हुने र कार्यक्रममा स्थानीय कलाकर्मीहरुको साथमा देउराली पञ्चे बाजा समुहको पञ्चे बाजा, म्याग्दीमा प्रचलित परम्परागत लोक सँस्कृति झल्किने थालीनाच, झ्याउरे नाच लगायतका प्रस्तुतीहरु पनि रहने मोना जापानका वरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा उत्साहजनक उपस्थित भई शोभा बढाइदिन मोना नाइट कार्यक्रमका संयोजक ददिवल खड्काले जापानबासी समस्त म्याग्देलीहरु, बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु लगाएत जापानस्थित सम्पुर्ण नेपालीहरुमा हार्दिक निमन्त्रणाका साथै अपिल गरेका छन् ।
सोही कार्यक्रम मे १ तारिखका दिन मोनाको नागोया क्षेत्रीय कमिटीको आयोजनामा नागोयामा र ३ मे मा फुकुओकामा पनि हुने मोना जापानका अध्यक्ष दिपक कार्कीले जानकारी दिनुभयो ।
मोना नाइट कार्यक्रम जापानबासी म्याग्देलीहरुको प्रतिष्ठासंग जोडिएको बिषय भएकोले आयोजित कार्यक्रमहरु सफल पार्न समस्त म्याग्देलीहरुले मन, वचन र कर्मले सहयोग गर्न आह्वान समेत गरेका छन् ।