काठमाडौं, वैशाख १०

२०७२ साल बैशाख १२ गतेको महाविनासकारी भुकम्पले क्षतविक्षत भएको गोरखाको लाप्राकको गुप्सीपाखामा अहिले मनोमोहक दृश्य देखिन्छ । लाग्छ यहा कुनै त्यस्तो दुखत घटना घटेको थियो भनेर । रातो र सेतो रंगका भित्ता एंव खैरो रंगका छाना भएका घर देख्दा सबैको मन लोभिन्छ ।

धार्चे गाउँपालिका ४ लाप्राकको गुप्सीपाखामा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले निर्माण गरिरहेको एकीकृत नमुनाबस्ती अहिले अन्तिम चरणमा पुगेको छ । ५ सय ७३ घर अन्तिम चरणमा पुगेको र हालसम्म चार सय ५० घरको छानो छाईसकेको एनआरएनएका साईट इन्चार्ज लक्ष्मण अर्यालले जानकारी दिनुभयो ।

‘सबै घरमा ट्रस हालिसकेका छौं, सबै घरमा पहिलो तलाको काम सकियो भने दोस्रो तलाको पनि ८५ प्रतिशत काम पूरा भएको छ,’ उहाले भन्नुभयो । ४७५ घरमा रंग लगाइसकेको अवस्था छ भने तल्लामा काठ छाप्ने काम बाँकी छ । घरमा झ्यालढोका राख्ने क्रम पनि सुरु भएको छ ।

एकीकृत बस्ती निर्माणमा १६० जना नेपाली सेनासहित ४५० कामदार परिचालन भएका छन् । गुप्सीपाखाको १८.३ हेक्टर जग्गा स्वामित्वमा लिएर बस्ती निर्माण गरिएको हो । २०७३ माघमा बस्ती शिलान्यासका क्रममा एनआरएनका तात्कालीन अध्यक्ष शेष घलेले एक वर्षभित्र लाप्राकवासीलाई नयाँ घरमा सार्ने प्रतिबद्धता गर्नुभएको थियो । तर, २०७४ असोजसम्म काम नसकेपछि एक वर्षको समय थपिएको थियो । असोजमा पनि निर्माण नसकिएपछि घर हस्तान्तरणका लागि वैशाख १२ गतेको म्याद राखिएको थियो । यद्यपि, यो मितिमा पनि बस्तीको सबै संरचना निर्माण नहुने देखिएको छ ।

नमुना बस्तीमा प्रत्येक घर ३ आना ३ पैसा क्षेत्रफलमा बनाइएको छ । लाप्राक नमुना बस्ती गुरुयोजनाअनुसार सबै एकै प्रकारका २ तले ४ कोठे घर बनाइएको छ । पहिलो तलामा सिमेन्ट, इँटा र बालुवाको प्रयोगले बनाइएको छ भने दोस्रो तल्लामा एसी ब्लक प्रयोग गरिएको छ । ट्रस हालेर पीभीसी पाताले छाइएको छ ।

प्रत्येक घरमा शौचालय तथा सडक निर्माणको काम सुरु गर्ने परियोजनाका प्रोजेक्ट म्यानेजर सुवास अधिकारीले जानकारी दिनुभयो । स्थानीयको श्रमदानसमेत गरी प्रतिघर लागत १२ लाख रुपैयाँ रहेको एनआरएनएले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्