काठमाडौँ, वैशाख ९ गते । सङ्घीय संसद्को बजेट अधिवेशन वैशाख १६ बाट आह्वान गरिएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १६ गते दिउँसो ४ बजे अधिवेशन आह्वान गर्नुभएको हो । अधिवेशन आह्वानसम्बन्धी जानकारी राष्ट्रपति कार्यालयले संघीय संसद् सचिवालयलाई आइतबार पठाएको छ ।
हिउँदे अधिवेशन अन्त्य भएको एक महिनापछि अधिवेशन आह्वान भएको हो । चैत ११ गते संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको थियो ।
संघीय संसद् सचिवालयका सचिव डा. भरतराज गौतमले सचिवालयलाई अधिवेशन आह्वानको पत्र प्राप्त भएको जानकारी दिनुभयो । गौतमले भन्नुभयो ‘अधिवेशन आह्वानको पत्र प्राप्त भएको छ । २०७६ वैशाख १६ गते ४ बजे अधिवेशनको पहिलो बैठक बस्नेछ ।’
बजेट अधिवेशन समेत भनेर चिनिने बर्खे अधिवेशनमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम पेस हुनेछ । यस्तै, सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि बजेट समेत पेस गर्नेछ । हाल कतिपय संसदीय समिति र सांसदहरू समेत नयाँ बजेट निर्माणका लागि सुझाव लिन छलफलमा केन्द्रित छन् । जिल्ला जिल्लामा बजेटका लागि सुझाव सङ्कलन गर्ने कार्य जारी छ ।
यसैगरी अधिवेशनमा अघिल्लो अधिवेशनमा बाँकी रहेका संघीय निजामती सेवा विधेयक, प्रहरी विधेयक, नागरिकता विधेयक लगायत महत्वपूर्ण विधेयक पनि पेस हुने चरणमा छन् ।