काठमाडौं, बैशाख ५
महानगरीय प्रहरी परिसर काठमाडौंले पछिल्लो समयमा बैंकिङ कसुर, साइबर अपराध, वैदेशिक रोजगार तथा हाउजिङसम्बन्धीका अपराध बढेको भन्दै सतर्क रहन अपिल गरेको छ । परिसरका निमित्त प्रमुख प्रहरी उपरीक्षक (एसपी) अशोक सिंहले पछिल्लो समय यस प्रकारका अपराध बढेको जानकारी दिनुभएको हो ।
बैंकिङ कसुर, साइबर अपराध, वैदेशिक रोजगार तथा हाउजिङसम्बन्धीका अपराध बढेकोले यसतर्फ प्रहरीले सादा पोशाकमा समेत प्रहरी परिचालन गरेर कारवाही अभियान चलाइएको एसपी सिंहले बताउनु भयो ।
अपराध बढेसँगै काठमाडौंं जिल्लामा विभिन्न आपराधिक घटनामा संलग्न पाँच हजार बढी व्यक्तिलाई पक्राउ गरी प्रहरीले कानूनी दायरामा ल्याएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार चालू आर्थिक वर्षको नौ महीनामा चार हजार ७ सय ६१ मुद्दाका पाँच हजार ३५८ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको हो ।
परिसरका प्रवक्ता होविन्द्र बोगटीले परिसर र काठमाडौँका विभिन्न प्रहरीवृत्तमा आएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको बताउनु भयो । बोगटीका अनुसार पक्राउ परेकाविरुद्ध बैंकिङ कसुर, गठी, अभद्र व्यवहार, लागुऔषध, चोरी, जुवातास, भवितव्य ज्यान मुद्दा लागेको छ ।
नौं महिनाको अवधीमा परिसरबाटै झण्डै एक हजार मुद्दामा ८३१ जनालाई पक्राउ गरी कारवाही अघि बढाइएको छ । प्रहरीवृत्त बानेश्वर, बालाजु, कमलपोखरी, लैन चौर, थानकोट, सिंहदरबार, बौद्ध, स्वयम्भू, गौशाला, कीर्तिपुर, महाराजगञ्ज, दरबारमार्ग र कालिमाटीमा परेको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी कारवाही थालिएको परिसरले जनाएको छ ।
यस्तै भारतीय नागरिकसमेत लुटपाट र ठगीमा सक्रिय हुने गरेको पाइएको छ । नक्कली वस्तुलाई सक्कली भनेर ठगी गर्ने गिरोहसमेत सक्रिय भएको परिसरका प्रवक्ता बोगटीले जानकारी दिनुभयो । यसतर्फ सचेत हुन र समयमै सूचना दिनसमेत प्रहरीले सबैमा अनुरोध गरेको छ ।