काठमाडौँ, ३ बैशाख २०७६ । नेपाली कांग्रेसले यहि बैशाख ११ गतेदेखि केन्द्रदेखि वडा तहसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। अभियानको नाम ’हिमाल, पहाड, तराइ मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ रहेको छ।
पार्टी मुख्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा यो बर्ष तीन चरणमा राष्ट्रिय जागरण अभियान सञ्चालन गरिने जानकारी गराइएको हो। जस अनुसार पहिलो चरणमा वैशाख ११ देखि जेठ ११ गतेसम्म, दोस्रो चरणमा भदौ २४ देखि १५ दिनसम्म र तेस्रो चरणमा पुस १६ देखि १० दिनसम्म अभियान सञ्चालन गरिनेछ।
कम्युनिष्ट नेतृत्वको बर्तमान सरकारले संघीयताको मर्म र भावना अनुसार काम नगरेको भन्दै उपसभापति विमलेन्द्र निधिले यसबारे वडा तहसम्म बुझाउनका लागि जागरण अभियान शुरु गर्न लागिएको बताए।
उपसभापति निधिका अनुसार अभियानमा कांग्रेसका पाँच लाख कृयाशिल सदस्य परिचालन हुनेछन्। उनले यो अभियानबाट जनस्तरमा आशा जाग्ने बिश्वास व्यक्त गरे।
पत्रकार सम्मेलनमा प्रवक्ता बिश्वप्रकाश शर्माले दिएको जानकारी अनुसार महासमिति बैठकबाट पारित दस्ताबेजबारे कार्यकर्तालाइ सुसूचित गर्ने, नेपाली कांग्रेसको अगुवाइमा भएका राजनीतिक उपलब्धीबारे सम्प्रेषण, संविधान संशोधनबारे जनमत सिर्जना लगायतका १४ उद्देश्य जागरण अभियानका रहेका छन्।
काठमाडौंको अभियानलाई पार्टी सभापति शेरबहादुर देउवाले र अन्य जिल्लामा केन्द्रीय प्रतिनिधिले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।