- ADVERTISEMENT -

बृद्धकृष्ण श्रेष्ठले छेडे सातौं पटक जिब्रो

April 15, 2019
1593
Shares
- ADVERTISEMENT -

भक्तपुर, २०७६ साल बैशाख २ गते सोमबार । मध्यपुरथिमि नगरपालिका वडा नम्बर ८ बोडे निवासी बुद्धकृष्ण बाग श्रेष्ठले सातौं पल्ट जिब्रो छेडाउनु भएको छ । भक्तपुरको प्रसिद्ध बिस्का जात्राअन्तर्गत प्रत्येक वैशाख २ गते मध्यपुरथिमि ८ बोडेमा जिब्रो छेड्ने जात्रा मनाउन उहाँले सातौं पटक जिब्रो छेडाउनु भएको हो ।

बोडे निवासी ४७ वर्षीय श्रेष्ठले यसअघि २०६२ देखि २०६५ सम्ममा ४ पटक र ०७४, ०७५ र ०७६ मा तीन पटक गरी सातौँ पल्ट जिब्रो छेडाएर संस्कृति बचाउनु भएको हो । जिब्रो छेड्ने जात्रालाई जोगाउन बोडेबासीमध्येबाट पनि नेवार श्रेष्ठ थरकै व्यक्ति चाहिने परम्परा रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

जिब्रो छेडाउने व्यक्तिले तीन दिन भोकै बसी एक महिनादेखि तेलमा डुबाइराखेको करिब १ फिट लामो सियोले जिब्रो छेड्ने चलन छ । जिब्रो छेड्नुअघि कर्मी नाइकेले सम्पूर्ण देवीदेवताको प्रार्थना गर्ने परम्परा छ । जिब्रो छेडदा रगत आउनु हुँदैन । रगत आए अनिष्ट हुने जनविश्वास छ ।

विशेष पहिरन र खुट्टामा तान्त्रिक घण्टी (घुंगरु) लगाई जिब्रो छेड्नुअघि शक्तिपीठहरूको दर्शन गर्ने र जिब्रो छेडिसकेपछि पनि चन्द्राकार बत्ती (भ्य) बोकी बोडे नगर परिक्रमा गर्ने प्रचलन रहेको छ । वैशाख २ गते बिहानैदेखि जिब्रो छेड्ने नाइकेले विभिन्न देवगणको पूजा गरी जिब्रो छेड्न पाँचो गणेशको प्रांगण रहेको पाटीमा मञ्च बनाई नायखिँ बाजाका साथ जिब्रो छेड्ने परम्परा छ ।

नकर्मीले एक महिनादेखि लामो सुइरो बनाई तेलमा डुबाएर राखेको हुन्छ र त्यही सुइरो ल्याएर सबै देवगणको पूजा गरी जिब्रो छेड्ने व्यक्तिलाई नायखिं बाजा बजाउँदै ल्याएपछि मञ्चमा राखी सबैको अगाडि जिब्रो छेडिन्छ । जिब्रो छेडेर नगरपरिक्रमा गराए देशमा दुःख नहुने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने जनविश्वास छ ।

बोडेको यो परम्पराका लागि हालसम्म हर्क नरसिंहले २२, बेखानारायण हाय श्रेष्ठले ३२, हरिदेव किला श्रेष्ठले १, हरिभासिक श्रेष्ठले ३, इन्द्र बाटा श्रेष्ठले २, हर्केश्वर ब्याँ श्रेष्ठले ३, चन्द्रसेन घो श्रेष्ठले ७ पटक जिब्रो छेडाउनु भएको छ । यस्तै दिलकुमार खपे श्रेष्ठले ७, मुनि घो श्रेष्ठले १, धर्मराज बलाम श्रेष्ठले १, कृष्णचन्द्र बाग श्रेष्ठले १२, बुद्धचन्द्र बाग श्रेष्ठले ७ र जुजुभाइ बास श्रेष्ठले ८ पल्ट जिब्रो छेडनु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -