काठमाडौं,२ बैशाख २०७५ । सेतो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ । मानिसहरुको पीडा र दुःखलाई हरण गर्ने देवताका रुपमा मानिने सेतो मच्छिन्द्रनाथको जात्रा शनिबारबाट सुरु भएको हो । हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि सुरु यो जात्रा मुख्य गरेर हिन्दु, वौद्ध र नाथ सम्प्रदायले मनाउने चलन छ । त्यसमा पनि काठमाडौँ महानगरपालिका भित्र यो जात्रा धुमधामसँग मनाइन्छ ।

इन्द्रचोक नजिक रहेको केलटोल जनबहाल (मच्छिन्द्र बहाल) बाट सेतो मच्छिन्द्रनाथलाई खटमा राखेर जमलमा रहेको ठूलो रथमा लैजाने क्रममा जात्राको सुरु हुन्छ । केलटोलबाट खटमा राखेर सेतो मच्छिन्द्रनाथलाई जमल तीनधारा पाठशालासम्म लैजासम्म लैजाने र त्यहाँबाट रथमा राखेर जात्रा अघि बढाउने चलन छ ।

शनिबार साँझ केलटोलदेखि खटमा राखेर मच्छिन्द्रनाथलाई जमलसम्म र त्यहाँबाट रथमा तानेर अनशसम्म पुर्याइएको छ । रथलाई अशन पुर्याएपछि मन्छिन्द्रनाथको दर्शनका लागि सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार राती त्यहाँ पुग्नुभएको थियो । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य भने खटमा राखेर जमलसम्म लैजाने क्रममा पनि सहभागी हुनुभयो ।

ठुलाबडाहरु मुख्य गरेर जमलबाट रथ तानेर अशनसम्म लैजाने क्रममा सहभागी हुने चलन भए पनि मेयर शाक्य भने केलटोलबाट खटमा राखेर सेतो मच्छिन्द्रनाथलाई जमलसम्म पुर्याउने क्रममा अर्थात जात्राको सुरुदेखि नै निकै उत्साहका साथ सहभागी हुनुभएको हो । ‘कला–सँस्कृति र परम्पराको जर्गेर्ना गर्न सबैले आ–आफ्नो ठाउँबाट प्रयास गर्नुपर्छ भनेर म सुरुदेखि नै सहभागी भएको हुँ,’ ‘मेयर शाक्यले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिका भनेको कला, सँस्कृति, परम्परा र सम्पदाले परिचित छ ।

यी अमूल्य नीधिलाई बचाई राख्नु हाम्रो कर्तव्य पनि हो ।’ मेयर शाक्य सुरुदेखि नै सहभागी हुँदा अन्य महत्वपूर्ण कार्यक्रम समेत छुट्न पुगेका थिए । परम्परा अनुसार रथलाई एक दिन अशनमा राखेर त्यहाँबाट फेरि अर्को दिन हनुमानढोकाको कालभैरवसम्म लैजाने चलन छ । त्यहाँ एक दिन राखेपछि रथलाई भोलिपल्ट लगनटोल लैजाने चलन छ । हनुमानढोकाबाट विभिन्न टोल हुँदै रथ तानेर लगनटोलमा रहेको मच्छिन्द्रनाथको आमा रुखको परिक्रमा गरेपछि रथयात्रा सम्पन्न हुन्छ ।

त्यसपछि मच्छिन्द्रनाथको मूर्तिलाई रथबाट ओराली खटमा बोकी विभिन्न टोलको परिक्रमा गर्ने चलन छ।लगनटोल मेयर शाक्यको टोल पनि हो । नेपाल सम्बत ७०८ मा राजा शिवसिंह मल्लले जमलमा भेटिएको सेतो मच्छिन्द्रनाथको मूर्तिलाई खड्गटोल निवासी दखभाजु प्रधानलाई जिम्मा दिएको भन्ने इतिहास छ। प्रधानले गुठी स्थापना गरी सेतो मच्छिन्द्रनाथको रथजात्राको सुरुवात गरेको भनि भनाई छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्