काठमाडौं, २७ चैत्र २०७५ । नेपाली कांग्र्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वसांसद एवं प्रसिद्ध उद्योगपति दिवाकर गोल्छाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाले बुधबार एक शोक विज्ञप्तिमार्फत उनको निधनबाट नेपालको औद्योगिक क्षेत्रमा अपूरणीय क्षति पुगेको र राष्ट्रले एक कुशल उद्योगपतिलाई गुमाएको उल्लेख गरेका छन् । साथै सभापति देउवाले स्व. गोल्छाको आत्माको चिरशान्तिको कामना गर्दै उनको शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
पूर्वसांसद एवं प्रसिद्ध उद्योगपति गोल्छाको मंगलबार राति भारतको चेन्नईमा उपचारका क्रममा निधन भएको हो । उनी मिर्गाैलासम्बन्धी समस्याबाट पीडित थिए । स्व. गोल्छा ०६४ को संविधानसभामा कांग्रेसका तर्फबाट सभासद् रहेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका स्व. गोल्छा नेपालको औद्योगिक क्षेत्रमा एक सम्मानित व्यक्तित्व थिए ।