पोखरा, २७ चैत्र २०७५ । कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको तेश्रो राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । २८ गते पोखरा सभागृहमा हुने राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
सम्मेलन २८ र २९ गते हुनेछ । मंगलबार पत्रकार सम्मेलनमार्फत जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले पार्टीलाई चलायमान र सुदृढिकरण बनाउने उद्देश्य रहेको बताउनु भयो ।
उहाले सम्मेलनले पार्टीलाई गुट उपगुट अन्त्य गरी एक ढिक्काका साथ अघि बढ्न दबाबमूलक सुझाव दिने उल्लेख गर्नु भयो । “गुट-उपगुट नै मुख्य समस्या हो, केन्द्रदेखि स्थानीयतहसम्मको यसको अन्त्य गर्न जरुरी छ”, उनले भने, “सम्मेलनले विदेश पलायन युवाहरुलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न सरकारलाई दबाब दिने र भातृ तथा शुभेच्छुक संस्थालाई महाधिवेशनमार्फत अघि बढाउन पार्टीलाई दबाब दिने कार्यक्रम छ ।”
त्यस्तै, सम्मेलनले सरकारका गतिविधिचित्तबुझ्दो नभएकाले देश व्यापी विरोधका कार्यक्रम संचालन गर्नका लागि केन्द्रलाई आग्रह समेत गर्ने र कास्की क्षेत्र नं २ सहित रिक्त स्थानमा निर्वाचन गराउन सरकारलाई दबाब दिने छ ।
नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले सम्मेलनलाई सभ्य र भव्य बनाउनका लागि कास्की काँग्रेसले सहयोग गर्ने बताउनु भयो ।