विराटनगर, फागुन २३

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जिल्ला सभापतिहरुलाई विशेष महाधिवेशन बोलाएर देखाउन चुनौति दिनु भएको छ । ५६ जिल्ला सभापतिले पार्टीको विशेष केन्द्रीय महाधिवेशन बोलाउने चेतावनी दिएकै पर्सीपल्ट देउवाले सो चुनौति दिनु भएको हो ।

विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले कार्य समितिले गरेको निर्णय उल्टाएर देखाउन चुनौती दिनुभयो । ‘पार्टीका जिल्ला सभापतिहरूको कतिपय विषयमा असहमति हुन सक्छ र कतिपय कुरा जायज पनि हुन सक्छ,’उहाले भन्नुभयो, ‘जिल्ला सभापतिहरू कुरो बुझ्छु ।’
देउवाले महासमिति बैठकमा उक्त विषयहरू उठेको तर निर्णय नभएकाले विधानमा संशोधन नगरिएको दाबी गर्नुभयो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहित बुधवार बिहान पूर्व महामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको बैठकलाई सभापति देउवाले प्रजातान्त्रिक प्रक्रियाको संज्ञा समेत दिनुभयो । उहाले पार्टीका साथीभाइहरूले कुनै विषयमा बसेर छलफल गर्नुलाई अस्वाभाविक रूपमा लिन नमिल्ने बताउनुभयो ।

देउवाले आफूलाई पार्टी चलाउन कसैले रोक्न नसक्ने दाबी गर्दै भन्नुभयो, ‘तीन वर्षदेखि पार्टी सञ्चालन गर्दै आएको र अहिले पनि गर्न कसैले रोक्दैन ।’ उहाले परिस्थिति अनुकुल भए समयमै महाधिवेशन गराउने समेत स्पष्ट पार्नुभयो । ‘समयमा नै महाधिवेशन गराउँछु तर त्यो परिस्थिति अनुसार हुन्छ,’ उहाले भन्नुभयो, ‘देउवाले आफ्नो विरुद्धमा लाग्नेलाई पार्टीको चुनावले जवाफ दिन्छ ।’

पार्टीका केन्द्रीय सदस्य शेखर कोइरालाबीच टकराबको विषयमा सञ्चारकर्मीको जिज्ञासामा सभापति देउवाले डा. शेखरलाई पटक पटक आफ्नो विरोधमा नबोल्न सम्झाउँदा नमानेपछि आफूले जवाफ मात्रै दिएको बताउनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्