काठमाडौं, २३ फागुन २०७५ । फेरि एकपटक आदरणीय नेता गिरिजाप्रसाद कोइरालालाई सम्झौं ! एकातिर राजाको शेखी झार्नु छ, अर्कातिर माओवादीलाई शान्ति प्रक्रियामा टिकाई राख्नु छ । यस्तो अवस्थामा उनले दोहोरो चुनौतीलाई कसरी चिरे होलान् ?
पूर्व प्रधानमन्त्री र कांग्रेसका सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाहरू दिवंगत भइसके । तर, त्यतिबेला उनीहरूले गरेको विवादका साक्षी माधवकुमार नेपाल, प्रचण्ड, बाबुराम भट्टराई, शेखर कोइराला, कृष्णप्रसाद सिटौलाहरू जीवितै छन् । उनीहरूलाई सम्झना होला एउटा बैठकमा सुशील कोइराला रन्किँदै छिरेको प्रसंग ।
‘नेपाली कांग्रेस निकट मान्छेहरूका यति जग्गा, उति सम्पत्ति माओवादीले कब्जा गरेर राखेका छन् । प्रचण्डले आगोले डढायो र बाढीले बगायो भन्ने गर्नुभएको छ । यस्तो गर्न पाइँदैन । अब ती सबै जमिन र हतियार फिर्ता हुनुपर्छ ।’
गिरिजाको जवाफ थियो, ‘हेर सुशील, तिमीले धेरै कुरा बुझेका छैनौ । सबै हतियार बुझाउनु पर्छ भन्ने छैन । हामीले पनि ००७ सालमा कहाँ सबै हतियार बुझाएका थियौं र ? क्रान्ति गर्नेहरूले सबै थोक बुझाउँदैनन् ।’
- ADVERTISEMENT -
गिरिजाले यसो किन भन्थे भने, माओवादी शान्ति प्रक्रियामा आइरहँदा राजतन्त्र पूरै गलिसकेको अवस्था थिएन । दरबार र सेनालाई तर्साउनका लागि गिरिजा आफैंले यो चौकी हान्नुपर्यो, यहाँका सेनालाई ठोक्नुपर्यो भनेर माओवादीलाई गुहार्ने गरेको कुरा त प्रचण्डले बेलाबेलामा भनेकै हुन् ।
राजालाई ठेगान लगाउन माओवादीलाई उक्साउने काम त्यसबेला भएकै हो । त्यतिबेलासम्म गिरिजाप्रसाद कोइराला गणतन्त्रमा जाने पक्षमा थिएनन्, संवैधानिक राजतन्त्रमै अडिरहेका थिए । कतिपय सेना–प्रहरीबाट लुटिएका र कतिपय चाहिँ खुला सीमानाका कारण भारतबाट ल्याइएका हतियार माओवादीसँग थिए । राजतन्त्र त ०६५ जेठ १५ मा मात्र विधिवत रूपमा बिदा भएको हो । यसअघि ०६३ मंसिर ५ मा माओवादी लडाकुलाई क्यान्टोनमेन्टमा राखियो ।
बाबुराम प्रधानमन्त्री भएपछि ०६९ सालमा सेना समायोजन भएर बल्ल लडाकुले क्यान्टोनमेन्ट खालि गरेका हुन् । ००७ सालको परिवर्तनपछि पनि सिंहदरबारमा राणाहरूको सुरक्षार्थ तैनाथ बिजुली गारतलाई राजाको सुरक्षार्थ नारायणहिटीभित्र हुलेपछि दिन्छु भनेको संविधानसभा दिने वचनबाट त्रिभुवन पन्छिएका थिए । बिजुली गारदको सुरक्षा पाएपछि उनको बोलिचाली नै फरक भयो । अर्थात्, फौजको आडमा राजा शक्तिशाली बने । ०१७ सालमा भएको पनि त्यही हो भन्ने कांग्रेसको बुझाई थियो ।
गिरिजाको कोणबाट आएको यो कुराले सन्तुलनपूर्वक नै शान्ति प्रक्रियालाई अगाडि बढाएको बुझ्न सकिन्छ तर यदि सुशीलले भने जस्तो कडिकडाउ गरिएको भए अहिले विप्लव नेकपाबाट बरामद हुन थालेका हतियार र ती हतियारले मच्चाउने बितण्डा कतै कम पो हुन्थ्यो कि ? जनआस्था साप्ताहिकबाट